काठमाडौं– कोरिया रोजगारी सकाएर फर्किएका पुनः रोजगारीमा जान पाउने भएका छन्। पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले १३ देखि १५ साउनसम्म आवेदन दिन सकिने गरी इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको हो।
परीक्षा आगामी १८ देखि २९ भदौसम्म हुने र नतिजा प्रकाशन ३ असोजमा गरिने शाखाले सूचनामार्फत जनाएको छ। नेपाल र गणतन्त्र कोरिया सरकारबीचको समझदारीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रियाअनुरूप आवेदन खुलाइएको शाखाले बताएको छ।
इच्छुक नेपाली नागरिक हुनुपर्ने, इपिएसअन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पछि भिसा अवधिभित्रै स्वैच्छिक रूपले नेपाल फर्केका कामदारले आवेदन दिन सक्नेछन्। आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ।
फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैरकानुनी रूपमा बसोबास नगरेको, नेपालबाट अन्य मुलुकमा जान रोक नलगाइएको व्यक्ति हुनुपर्नेछ।


