काठमाडौँ- द ब्रिटिस कलेज (टीबीसी)ले स्टार्टअप फेस्ट २०२३ सम्पन्न गरेको छ। आइतबार हिमालय होटलमा भएको प्रतियोगिताको फाइनलमा उत्कृष्ट तीन टिमहरुलाई विजयी घोषणा गरिएको हो।
टीबीसी इन्क्युबेशन सेन्टरले शुक्रबारबाट सुरु गरेको प्रतियोगितामा शीर्ष १० टिमले आ–आफ्नो विचारहरु राखेका थिए। सबैभन्दा राम्रो विचार प्रस्तुत गर्ने ‘कम्पोस्टिङ द एक्सपान्डेड पोलिस्टिरिन (स्टाइरोफोम)’ टोलीले पहिलो स्थान हासिल गरेको हो।
रधिक थापाको नेतृत्वमा रहेको उक्त टिमले ‘रिसाइकल एण्ड स्टाइरोफोम युजिङ मिलवर्मस् एज अ प्रोसेस अफ डिकम्पोजिसन’ बारे विचार प्रस्तुत गरेका थिए। विजेता टिमले एक लाख रुपियाँ नगद पुरस्कार समेत प्राप्त गरेका छन्।
सोही टिमका सदस्यहरुले टीबीसीको इन्क्युबेशन सेन्टरको एक्सेस समेत पाएका छन्। त्यस्तै, दोस्रो स्थान हासिल गर्ने ‘टिम हार्वेस्ट ग्रो इन्भेस्टमेन्ट’ले नेपाली कृषि उद्योगका लागि लगानीकर्ताहरु भर्ना गर्नेबारे विचार प्रस्तुत गरेका थिए। उनीहरुले पुरस्कारस्वरुप ७५ हजार रुपियाँ प्राप्त गरेका छन्। तेस्रो स्थान ‘बायो–इन्जाइम’ टिमले हासिल गरेको छ भने उक्त ५० हजार रुपियाँ बराबरको पुरस्कार प्राप्त गरेको छ। उनीहरुले वातावरणमैत्रि सफाइका उत्पादनबारे विचार प्रस्तुत गरेका थिए।
टीबीसी स्टार्टअप फेस्ट देशभरका विद्यार्थीहरुको लागि आफ्नो उद्यमशील विचारहरु प्रस्तुत गर्ने र उनीहरुको स्टार्टअपहरुमा लगानी गर्ने उद्देश्यले सुरु गरिएको हो। प्रतियोगिताको पहिलो दिन नेपालभरका बिभिन्न कलेजहरुका ५० जना विद्यार्थीहरुले आ–आफ्नो विचारहरु प्रस्तुत गरेका थिए। ती मध्ये उत्कृष्ट १० विचारहरुलाई अघिल्लो चरणको लागि छनौट गरिएको थियो।
उत्कृष्ट १० विचारहरुमा सहभागी भएका ५० जना विद्यार्थीहरु मध्यबाट पाँच टिम बनाइएको थियो। त्यसपछि सो टिमका सदस्यहरुलाई शनिबार विशेषज्ञ तथा टीबीसीका प्रोफेसरहरुले आवश्यक तयारी कक्षा समेत संचालन गरेका थिए। कार्यक्रमको अन्तिम दिन विशिष्ट अतिथिहरु प्रा. टिम गोचर ओबीई र डा. पुकार मल्लले आफ्ना भनाईहरु राखेका थिए।
निर्णायकहरु स्नेह राजभण्डारी, आशुतोष दीक्षित, अमित अग्रवाल र ब्रिटिस कलेजका उप–प्राचार्य डा। प्याट्रिक म्याक्रडनको अगाडि टिमहरुले आफ्नो उद्यमशिल विचारहरु प्रस्तुत गरेका हुन्। सहभागी विद्यार्थीहरुले नवप्रवर्तन, प्रभाव र दिगो विकासका लक्ष्यहरुमा केन्द्रित रहँदै आफ्ना धारणाहरु राखेका थिए। उत्कृष्ट विचार प्रस्तुत गर्ने तीन टोलीलाई विजेता घोषित गरिएको हो।

प्रतियोगिताको आयोजनाले विद्यार्थीहरुले आफ्नो विचारहरु प्रस्तुत गर्ने अवसर पाएको टीबीसीको विजनेश स्कुल विभागकी प्रमुख सुनिता बस्नेतले बताइन्। ब्रिटिस कलेजले नेपालको स्टार्टअप र उद्यमशिल इकोसिस्टममा योगदान पुर्याउने लक्ष्य राखेको र स्टार्टअप फेस्ट त्यसैको हिस्सा रहेको बस्नेतले बताइन्।
उनले थपिन्, ‘उद्यम, प्रभाव र एसडीजी सम्बन्धि पाठ्यक्रमहरु प्रदान गर्ने शैक्षिक संस्थाको रुपमा हाम्रा लागि युवाहरुको विचारलाई वास्तविकतामा परिणत गर्न प्लेटफर्म दिनु आवश्यक छ। त्यसैले हामी यो कार्यक्रम वार्षिकरुपमा आयोजना गर्ने लक्ष्य राखेका छौं। साथै, भविष्यमा अझै धेरै शैक्षिक संस्था तथा उद्योगीहरुसँग सहकार्य गर्न चाहान्छौं।’


