गत अक्टोबरमा वाल स्ट्रिट जर्नलले विश्वविद्यालय, व्यवसायहरू र वालस्ट्रिटका ६० भन्दा बढी आर्थिक पूर्वानुमानकर्ताहरूको सर्वेक्षण प्रकाशित गर्यो। सर्वेक्षणको नतिजालाई उद्धृत गर्दै जर्नलले संयुक्त राज्य अमेरिकामा आगामी १२ महिना आर्थिक मन्दी आउने पूर्वानुमान भएको भनिएको थियो। त्यतिबेला अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले लगातार बढ्दै गएको मुद्रास्फीति घटाउने प्रयास गरिरहेको थियो। जर्नलले आर्थिक मन्दी आउने सर्वेक्षणहरू सार्वजनिक गरेपछि त्यसको असर अर्थतन्त्रमा पर्यो। रोजगारदाताहरूले कामदार कटौती गर्न थाले।
सन् २०२३ को पहिलो त्रैमासमा मुद्रास्फीति-समायोजित कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ०.२ प्रतिशत (वार्षीकीकृत)ले कमी आउने पूर्वानुमान अर्थशास्त्रीहरूको थियो। यस्तै दोस्रो त्रैमासमा ०.१ प्रतिशतले संकुचन आउने बताइएको थियो। त्यतिबेला ३.५ प्रतिशतमा रहेको बेरोजगारी दर जुनसम्ममा ४.३ प्रतिशतमा पुग्ने पनि अर्थशास्त्रीहरूले अनुमान थियो।
तर यी पूर्वानुमानहरू छेउटुप्पै मिलेनन्। बिहीबार मात्रै अमेरिकाको वाणिज्य मन्त्रालयको तथ्यांकले सन् २०२३ को पहिलो त्रैमासिकमा २.० प्रतिशतले जीडीपी बढेको र दोस्रो त्रैमासिकमा २.४ प्रतिशत (वार्षिकीकृत)ले वृद्धि भएको देखाएको छ। अर्थशास्त्रीहरूको दाबीअनुसार आर्थिक मन्दीमा अर्थतन्त्र डुब्नु त कता हो कता, अमेरिकी अर्थतन्त्र दिगो छ भन्ने केही विज्ञले दाबी गरेको भन्दा पनि बढी मात्रामा अर्थतन्त्रमा सुधार भएको देखियो। रोजगारदाताहरूले रोजगारी सिर्जना गरिरहेकै छन्। बेरोजगारी दर लगभग स्थिर जस्तै छ। विगत नौ महिनामा बेरोजगारी दर प्रतिशत बिन्दुको १० प्रतिशत मात्र बढेर जुन महिनामा ३.६ प्रतिशतसम्म पुगेको छ।
गत अक्टोबरदेखि विश्व अर्थव्यवस्थामा कुनै ठूलो आश्चर्य भएको छैन। कोरोना महामारीपछि विश्वव्यापी आपूर्ति शृङ्खलाहरू पुन: लयमा फर्कने क्रम जारी छ।
अनुमानकर्ताहरूले निश्चित मन्दी आउँछ भनेर कहिल्यै ठोकुवा गरेका भने थिएनन्। अधिकांशले आफ्ना पूर्वानुमानअघि ‘सम्भवतः’ भन्ने शब्द प्रयोग गर्छन्। यसको सम्भाव्यतालाई प्रतिशतमा लैजाँदा ६३ प्रतिशत हुन आउएको थियो। तीव्र रूपमा बढेको ब्याजदर भएको अवस्थामा आर्थिक मन्दी आउने भनेर भविष्यवाणी गरेका निजी क्षेत्रका अर्थशास्त्री (पूर्वानुमानमकर्ता)हरु मात्र ‘मुर्ख’ बनेका बनेका थिएनन्।
अमेरिकी केन्द्रीय बैँक फेडरल रिजर्भका अर्थशास्त्रीहरूले पनि यस वर्ष आर्थिक मन्दी आउने भविष्यवाणी गरिरहेका थिए। बुधवार पत्रकार सम्मेलन आयोजना गरी केन्द्रीय बैंकले फेरि संघीय कोषदर बढाएको छ। यसअघि ५.२५ प्रतिशतमा रहेको उक्त दरलाई बढाएर ५.५ प्रतिशतमा पुर्याएको छ। फेडका अध्यक्ष जेरोम पावेलले आफ्ना कर्मचारीहरूको भविष्यवाणी परिवर्तन भइसकेको र यस वर्ष (अबको बाँकी अवधि) मध्यम स्तरको आर्थिक वृद्धि हुने बताएका छन्।
आर्थिक पूर्वानुमान गर्न गाह्रो हुन्छ र अक्सर यो काममा धन्यवाद सायदै मिल्छ। आधुनिक समयमा अर्थतन्त्र अत्यन्त जटिल बन्दै गएको छ। यसका अंगप्रत्यंग जटिल बन्दै गएका छन्। तिनीहरूले उत्पन्न गर्ने समग्र परिणामहरूले धेरै कुरालाई प्रतिबिम्बित गर्दछ। यसमा केही बाह्य कारण पनि हुन सक्छन्। कहिलेकाहीँ त कल्पनासम्म पनि नगरिएका कारणा आइपर्न सक्छन्; जस्तै कोरोनाभाइरस महामारी र युक्रेनमा युद्ध।
गत अक्टोबरदेखि विश्व अर्थव्यवस्थामा कुनै ठूलो आश्चर्य भएको छैन। कोरोना महामारीपछि विश्वव्यापी आपूर्ति शृङ्खलाहरू पुन: लयमा फर्कने क्रम जारी छ। युक्रेनमा युद्ध जारी छ। मुद्रास्फीति नियन्त्रणमा नआएसम्म दरहरू बढाउने वाचामा फेड प्रतिबद्ध देखिन्छ। त्यसो भए, अर्थशास्त्रीहरूले पूर्वानुमान गरेभन्दा किन फरक तरिकाले अर्थतन्त्र प्रस्तुत भइरहेको छ त?
उपभोक्ताको खर्च र व्यवसायले गरेको लगानी अपेक्षाभन्दा बलियो भएको एउटा सम्भावित उत्तर हुन सक्छ। अप्रिलदेखि जुनसम्मको तीन महिनामा, व्यक्तिगत उपभोग खर्च ( व्यक्तिगत खर्चले जीडीपीमा दुई तिहाइभन्दा बढी योगदान गर्छ) वार्षिक १.६ प्रतिशतको दरले बढेको छ। यस्तै निजी क्षेत्रको आन्तरिक लगानी लगानी ५.७ प्रतिशतको दरले बढेको छ। त्रैमासिक अवधिमा भएका यी सूचकको वृद्धिले वर्षलाई नै सकारत्मक रूपमा असर पार्ने देखिएको छ। (राज्य र स्थानीय सरकारहरूको उच्च खर्चको कारण पनि धेरै कुरा सम्भव भएको थियो।) तर यी तथ्याङ्कका आधारमा गहिरो प्रश्न भने खडा भएको छ:- परिवार र व्यवसायले कसरी उच्च मूल्य र उच्च ब्याजदरलाई धानेका छन् त?
उल्लेखनीय कुरा त के भने उत्पादनमूलक उद्योगमा व्यावसायिक लगानीलाई गत वर्ष ल्याइएको मुद्रास्फिति न्यूनीकरण ऐनले सहयोग गरेको छ। यसको मुख्य असर विद्युतीय सवारी साधन र अन्य हरित प्रविधिका निर्माता र चिप्स उत्पादकलाई परेको छ।
ज्यालादरभन्दा मूल्यवृद्धि दर बढ्ने क्रमको गति सुस्त छ (धेरै अर्थशास्त्रीहरूले यो कुरालाई भविष्यवाणी गर्न असफल भए)। जसको मतलब कामदारहरूको क्रयशक्ति बढ्दै गएको छ, यद्यपि यो निकै सुस्त छ। स्वस्थ रोजगारी वृद्धिसँगै, मुद्रास्फीति दरमा तीव्र गिरावट आएको छ। जुन २०२२ मा ९.१ प्रतिशतबाट घटेर गत महिना तीन प्रतिशतमा आएको छ। यसले धेरै उपभोक्ताहरूलाई राम्रो महसुस गराएको छ। उपभोक्ताको मनोबल सूचकांक दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको कन्फ्रेन्स बोर्डले यसै साता मात्र बताएको छ।

थुप्रै मनिटरमा ग्राफहरू हेर्दै एक व्यक्ति। तस्बिर : एन्जिला विस/गेट्टी इमेज
बिहीबार, वाल स्ट्रिट जर्नलले उपभोक्ता खर्चलाई समर्थन गर्ने अर्को तत्वलाई प्रकाशमा ल्यायो। जर्नलका अनुसार फेडले दरहरू बढाउन सुरु गर्नु अघि धितो, कार ऋण र अन्य ऋणमा कम ब्याजदरमै लक गर्न उपभोक्ता सफल भए। मुडिज एनालिटिक्सका अनुसार आन्तरिक ऋणको झन्डै नब्बे प्रतिशत ऋणको ब्याजदर खास परिवर्तन हुनेवाला छैन। यसको अर्थ फेडले संघीय कोष दर चलाए पनि उपभोक्ताको ब्याज भुक्तानी रकम बढ्दैन। ‘फेडको दरवृद्धिको असर अर्थतन्त्रमा कम पर्नेवाला छ,’ मुडिजका प्रमुख अर्थशास्त्री मार्क जान्डीले जर्नलसँग भनेका छन्।
धेरै अर्थशास्त्रीहरूले कम आकलन गरेको अर्को कुरा चाहिँ अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले दुई वर्षमा प्रस्तुत गरेको वित्तीय नीतिहरूको असर पनि थियो। १.९ ट्रिलियन डलरको अमेरिकी उद्धार योजना ऐन, २०२१ का सकारात्मक असर घरपरिवार र स्थानीय सरकारमा देखिन थालेको छ। यो ऐनले उनीहरूको खर्च व्यवस्थापनमा सहयोग गरिरहेको छ। उल्लेखनीय कुरा त के भने उत्पादनमूलक उद्योगमा व्यावसायिक लगानीलाई गत वर्ष ल्याइएको मुद्रास्फिति न्यूनीकरण ऐनले सहयोग गरेको छ। यसको मुख्य असर विद्युतीय सवारी साधन र अन्य हरित प्रविधिका निर्माता र चिप्स उत्पादकलाई परेको छ। विज्ञान ऐनले सेमिकन्डक्टर उत्पादकलाई पनि यस्तै सकारात्मक असर परेको छ।
यो कुरा मैले पहिले पनि लेखेको थिएँ। मेरो कुरलाई जीडीपी वृद्धिसम्बन्धी पछिल्लो रिपोर्टले पनि पुष्टि गरेको छ। यो वर्षको दोस्रो त्रैमासमा मात्र व्यवसाय विस्तारका संरचनामा गरिएको लगानी मात्र ९.७ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो त्रैमासमा यस्तो वृद्धिदर अझ बढी १५.८ प्रतिशत थियो। यस्तो सबै खर्च लगानीकर्ताले मात्र गरेका थिएनन्, तैपनि यसको असर राम्रो परेको छ।
ह्वाइट हाउस काउन्सिल अफ इकोनोमिक एडभाइजर्सले औंल्याएअनुसार निजी क्षेत्रका संरचनामा भएको लगानीले मात्र दोस्रो त्रैमासमा जीडीपी वृद्धिदर बढाउन लगभग ०.४ प्रतिशत बिन्दुको योगदान गरेको छ। योस सन् १९८१ पछिकै सबैभन्दा ठूलो योगदान हो। तत्कालको अर्थतन्त्र र दीर्घकालीन ऊर्जाका लागि यो राम्रो समाचार हो। दीर्घकालमा ऊर्जा रुपान्तरण आवश्यक पनि छ।
त्यसो भए नराम्रो कुरा चाहिँ के हो त? चिन्ताका विषय पनि खोजी गर्ने भएकाले म केही न केही त्यस्ता विषय पनि फेला पार्न सक्छु। फेडले अझै लामो समयसम्म दरहरू धेरै उच्च राख्न सक्छ। एआईप्रतिको आकर्षणले टेक्नोलोजी स्टकमा आएको उछालले स्टक-बजार क्र्यासमा जान सक्छ। त्यसबेला अर्को बैंकिङ संकट आउन सक्छ। मध्यपूर्वमा भएको द्वन्द्वको असर इन्धनको मूल्यमा देखिएको कुरालाई उदाहरणका रूपमा लिन सकिन्छ। आर्थिक पूर्वानुमानकर्ताहरू अधिक आशावादी हुने दृश्यलाई पनि औंल्याउन सकिन्छ। तर जे भए पनि अहिलेको लागि अर्थशास्त्रीहरूको भविष्यवाणी गलत साबित भएकोमा खुशी मनाऔँ।
(द न्युयोर्करमा प्रकाशित जोन क्यासिडीको यो सामग्री तीर्थराज निरौलाले भावानुवाद गरेका हुन्। अर्थशास्त्र र राजनीतिक विषयमा कलम चलाउने क्यासिडीका दुई पुस्तक ‘हाउ मार्केट्स फेल: द लजिक अफ इकोनोमिक कालामिटीज’ र ‘डट.कन: हाउ अमेरिका लस्ट इट्स माइन्ड एन्ड मनी इन द इन्टरनेट इरा’ प्रकाशित छन्।)



