काठमाडौँ- काठमाडौ विश्वविद्यालयले स्नातक तह उत्तीर्ण विद्यार्थीलाई लक्षित गर्दै रोजगारी दिने भएको छ। कम्तीमा ७० जना स्नातकलाई रोजगारी प्रदान गर्ने गरी यस्तो योजना ल्याइएको हो।
विश्वविद्यालयले बिजनेस इन्क्युबेसन सेन्टरमार्फत विश्वविद्यालयमा अध्ययन विद्यार्थीहरूलाई नेतृत्व विकास र व्यवसायमा ल्याउन व्यापार गर्न प्रोत्साहन एवम् सहयोग गर्ने योजना बनाएको छ। यस अन्तर्गत विद्यार्थीहरुबाट कम्तीमा २० वटा व्यवसाय स्थापना गराउने योजना विश्वविद्यालयको छ।
यसका लागि विश्वविद्यालय अनुदान आयोगबाट एक करोड सहयोग प्राप्त भएको विश्वविद्यालयले जानकारी दिएको छ। विश्वविद्यालयले व्यवस्थापन गरिरहेको इनरजाइज नेपालले ऊर्जा सँग सम्बन्धित सोचलाई व्यापारमा परिणत गर्न ३५ लाख विनियोजन गरेको छ भने एक करोडको अक्षय कोष स्थापना गरेको छ।
आर्थिक सहयोग मात्र नभई प्राविधिक र व्यवस्थापनसम्बन्धी परामर्श निःशुल्क रुपमा उपलब्ध गराउने योजना विश्वविद्यालयको छ।
विश्वविद्यालयअन्तर्गत कोरियन सरकारको सहयोगमा नेपाल टेक्नोलोजी इनोभेशन सेन्टरको पनि स्थापना भएको छ। अनुसन्धान गरी व्यापारीकरण सम्म पुग्न आवश्यक सेवा र सुविधा त्यस सेन्टरबाट विद्यार्थीलाई उपलब्ध गराइने छ।
यस कार्यक्रमलाई दिर्घकालीन बनाउनका लागि मुनाफा वितरण नगर्ने कम्पनी नलेज युटिलाइजेसन, इन्क्युबेसन एन्ड इनोभेसन सेन्टरको पनि स्थापना भएको छ। विश्वविद्यालयले लगानी गरेका व्यवसायबाट प्राप्त मुनाफा नयाँ सोचमा लगानी गर्ने कम्पनीको योजना रहेको छ। यस कम्पनीले लगानी का साथै परामर्श, तालिम, सहयोग र सहजीकरण गर्ने उद्देश्य लिएको छ।
काठमाडौं विश्वविद्यालयमा सन् २०१४ मा इन्क्यूबेशन सेन्टर स्थापना भएको थियो। देशकै शैक्षिक संस्थामा पहिलो येस्तो सेन्टर भएको र सो संस्थाले २०१७ सम्ममा १० वटा नविन्तम सोचहरुलाई व्यापारका रुपमा परिणत गरेको थियो। काठमाडौं विश्वविद्यालयले आन्तरिक स्रोतबाट संचालन गरेको सो सेन्टर हाल काठमाडौ विश्वविद्यालयले व्यवस्थापन गरिरहेको इनरजाइज नेपालले सञ्चालन गर्दै आएको छ।


