काठमाडौं– राष्ट्रिय गौरवको आयोजना नागढुंगा–नौबिसे सुरुङ मार्गको ‘रेस्क्यु टनेल (उद्धार सुरुङ) को आज ब्रेक थ्रु हुँदै छ। रेस्क्यु टनेल खन्ने काम आज सम्पन्न हुनै लागेको हो।
आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहितको टोली नागढुंगा सुरुङ मार्ग पुगेपछि रेस्क्यु टनेलको ‘ब्रेक थ्रु’ गर्ने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा. विजय जैसीले बताए।
सुरुङ मार्ग निर्माण सुरु भएको झन्डै चार वर्षपछि ‘रेस्क्यु टनेल’ को ‘ब्रेक थ्रु’ गरिन लागिएको हो। ४ कात्तिक २०७६ मा शिलान्यास भई रेस्क्यु टनेलको सुरुङ निर्माण थालिएकामा आज सम्पन्न हुने भएको छ।
२.५ किलोमिटर रहेको नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यु टनेलको ‘ब्रेक थ्रु’ गरिएसँगै मुख्य टनेलको सुरुङको काम अब १८ प्रतिशत मात्र बाँकी रहेको आयोजनाले जनाएको छ। २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र अब खन्न बाँकी छ।


