काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७९/०८० मा १२ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको तुलनामा झन्डै १ अर्ब कम नाफा कमाएको हो ।
गत आव २०७८/०७९ मा प्राधिकरणले १३ अर्ब ३७ करोड नाफा कमाएको थियो । सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा जलविद्युत् केन्द्रहरुको विद्युत् उत्पादनमा कमी आउँदा नाफा प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार पत्रकार सम्मेलन गर्दै आफ्नो दोस्रो कार्यकालमा भएका महत्वपूर्ण उपलव्धिहरु सार्वजनिक गरे ।
सो अवसरमा उनले प्रतिव्यक्ति ऊर्जा खपत करिब २३५ युनिट रहेकोमा अहिले बढेर ३८० युनिट पुगेको बताए । पछिल्लो २ वर्षमा ९५ प्रतिशत जनतामा विद्युत्तीकरण गरिएको उनले बताए ।
विगत २ वर्षको अवधिमा राष्ट्रिय प्रणालीमा १२४६ मेगावाट बिजुली उत्पादन भइसकेको उनले बताए । प्राधिकरणका अनुसार, हालसम्म प्रणालीको जडित क्षमता कुल २८२२ मेगावाट पुगेको छ ।
त्यस्तै, प्राधिकरणले सर्वसाधारणका लागि सेयर जारी गर्ने जनाएको छ । प्रधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणमा सेयर जारी गर्ने फ्रक्रिया अघि बढाइएको घिसिङले बताए । सर्वसाधारणलाई सेयर जारी गर्नका लागि इक्रा नेपालबाट एए प्लस रेटिङ पाएको उनले बताए ।


