काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात प्रवर्द्धनका लागि सरकारले भन्सारमा सहजीकरण गर्नुपर्ने बताएका छन्।
भन्सार विभागद्वारा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ढकालले कच्चा पदार्थ र तयारी वस्तुबीच भन्सार दर फरकफरक हुने व्यवस्था भए पनि कार्यान्वयनमा नआएको उल्लेख गर्दै विस्तृत अध्ययन गरी यसको समाधान गर्न आग्रह समेत गरे।
विश्वका अन्य मुलुकहरुमा भन्सारमा लाग्ने समय र वस्तु निर्यात गर्दा आवश्यक पर्ने कागजात नेपालको भन्दा निकै सहज रहेको बताउँदै अध्यक्ष ढकालले यसको पुनरवलोकन गर्न आवश्यक रहेको बताए।
‘विश्वका २३ वटा मुलुकमा निर्यात कागजात तयार गर्दा १ घण्टा, १६ मुलुकमा निर्यातमा भन्सार जाँच पास गर्दा १ घण्टा, १७ अर्थतन्त्रमा निर्यातका लागि कागजात तयार गर्दा शून्य लागत, १६ अर्थतन्त्रमा निर्यातका लागि सीमा क्षेत्र पार गर्दा लाग्ने लागत शून्य छ । हाम्रो छिमेकी राष्ट्र भुटानमा समेत आयात र निर्यातमा समान समय लाग्छ । तर, नेपालमा भन्सारमा ११ घण्टा लाग्ने गरेको छ,’ उनले भने, ‘यसलाई नघटाई निर्यात प्रवर्द्धन हुन सक्दैन।’
विश्व बैंकले कच्चा पदार्थमा भन्सार महशुल छुट, पुँजीगत सबै वस्तुहरुमा भन्सार छुट वा अर्ध प्रशोधित वस्तुमा भन्सार छुट गर्दा उत्पादन वृद्धि हुने, निर्यात बढ्ने र उल्लेख्य रोजगारी बढ्ने देखाएको बताउँदै यसको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरे।
अध्यक्ष ढकालले वैदेशिक व्यापारमा एकलद्वार प्रणाली लागु गर्न, न्यूनतम पनि ९८ प्रतिशत वस्तुहरुको परीक्षण भन्सार बिन्दुमा हुने व्यवस्था गर्न, एक्सरे मेशिन जस्ता न्यूनतम् प्रविधिको प्रयोग गरी भन्सार जाँचपास प्रक्रिया सरल बनाउन आवश्यक रहेको बताए।


