काठमाडौं । सरकारले काम सम्पन्न भएका निर्माण आयोजनाको भुक्तानी नदिएपछि तेस्रो चरणको आन्दोलनमा रहेको निर्माण व्यवसायीले सोमबार पनि सडक विभागमा धर्ना दिएका छन् । कामको भुक्तानी पाउन दबाबमूलक रुपमा आन्दोलन गरिरहेका निर्माण व्यवसायीलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो ।
सडक र सिँचाइ विभागमा ताला लगाउन पुगको झन्डै ५० जना निर्माण व्यवसायीलाई प्रहरीले धरपकड गरेको थियो । काम सकिएपछि भुक्तानी माग्दा उल्टै सरकारले निर्माण व्यवसायीलाई धरपकड गर्नु निन्दनीय रहेको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।
‘काम सकेर भुक्तानी दिनुको सट्टा उल्टै हामीमाथि धरपकड गरियो । सरकारले आफ्नो निरिहता देखायो’ उनले भने, ‘तर, हाम्रो आन्दोलन रोकिनेवाला छैन् ।’ सोमबार पनि निर्माण व्यवसायीहरुले सडक विभाग परिशरमा धर्ना दिएका छन् । माग सम्बोधन नभए सडक जाम गर्ने व्यवसायीको चेतावनी छ ।
सरकारले निर्माण सम्पन्न भइसकेका सडक, खानेपानी, पुल, सिँचाइलगायतका आयोजनामा गरि कुल ५० अर्ब रुपैयाँ भुक्तानी सरकारबाट पाएका छैनन् । सरकारले आर्थिक मन्दीका कारण पूँजीगत खर्च कटौतीमा जोड दिएको छ भने स्रोत अभाव देखाउँदै निर्माण व्यवसायीको भुक्तानी दिएको छैन् ।
केही समयअघि अर्थमन्त्री डा. प्रकासशरण महतले तत्काल निर्माण व्यवसायीको भुक्तानी दिन स्रोत अभाव रहेको बताएका थिए ।


