काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सरकारी स्वामित्वको नेपाल आयल निगमले गए राती १ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो।
निगमले मंगलबार बेलुकी सूचना जारी पेट्रोल प्रतिलिटरमा ५ तथा डिजेल र मट्टीतेल प्रतिलिटरमा १४ रुपैयाँ बढेको बताएको हो। निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने बढाएको छैन।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य तोकिएको निगमले बताएको छ। आईओसीले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ८५ पैसा र डिजेलमा ११ रुपैयाँ २५ पैसा बढाएर नयाँ मूल्यसूची पठाएको निगमले जनाएको छ।
निगमले आईओसीले पठाएको नयाँ सूचीअनुसार मूल्य समायोजन गरिएको बताएको छ। निगमले पेट्रोलियम बिक्री गर्दा नेपालभरका विभिन्न स्थानलाई तीन वर्गमा विभाजन गरी मूल्य कायम गर्दै आएको छ।


