काठमाडौं– श्रम तथा रोजगार मन्त्रालयको वैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष २०७९/८० मा मात्रै विदेश रोजगारीमा ज्यान गुमाउनेको संख्या १ हजार २०८ पुगेको विवरण सार्वजनिक गरेको छ।
औपचारिक रुपमा सरकारले विवरण सार्वजनिक गरे पनि योभन्दा बढी संख्याका नेपालीले विदेश रोजगारीमा ज्यान गुमाएको हुन सक्ने आँकलन गरिएको छ। विदेश रोजगारीमा अकाल मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको संख्यालाई आधार मानेर ज्यान गुमाएकाको विवरण निकालिएको हो।
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाए पनि आर्थिक सहायता लिन नआएकाको संख्या उल्लेख्य देखिएको छ। यस अवधिमा १ हजार २०८ मृतक श्रमिकका परिवारलाई रकम उपलब्ध गराइएको बोर्डले बताएको छ। तथ्यांकअनुसार औसतमा दैनिक चार वटा शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने गरेका छन्।
बोर्डको सचिवालयबाट विदेश रोजगारीमा अकाल मृत्यु हुनेहरुले लिएको आर्थिक सहायता रकमको सूचीअनुसार आव २०६५/६६ साउनदेखि २०७९/८० सम्म १२ हजार १४० जनाले ज्यान गुमाएका छन्। मलेसियामा सबैभन्दा बढी नेपालीले ज्यान गुमाएका छन्। आव २०७८/७९ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेको संख्या एक हजार ४८९ जना रहेको बोर्डका निर्देशक राजन पौडेलले बताए।
वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेमध्ये अधिकांश सडक दुर्घटना, प्राकृतिक मृत्यु, आत्महत्याको ठूलो संख्या देखिएको छ। वैदेशिक रोजगारीका क्रममा करार अवधिभित्र मृत्यु भएका श्रमिकका परिवारले प्रतिव्यक्ति ७ लाखका दरले आर्थिक सहायता रकम पाउने व्यवस्था छ।
वैदेशिक रोजगारमा मृत्यु हुनुको प्रमुख कारण ७६ प्रतिशत अदक्ष युवा विदेश जाने गरेको र त्यो संख्या बढी जोखिममा पर्ने गरेको बताइन्छ। आर्थिक वर्ष २०७९/८० मा विदेश रोजगारीमा गएका ३८९ जना अंगभंग वा गम्भीर बिरामी भएर स्वदेश फर्किएका छन्। स्वदेश फर्किएकालाई बोर्डले ९ करोड ९७ लाख ८ हजार आर्थिक सहायता उपलब्ध गराएको छ।
बोर्डले बिरामी वा अंगभंग भएर फर्किएका श्रमिकलाई अवस्था हेरेर विशेषज्ञ चिकित्सकको सिफारिसमा अधिकतम ७ लाख आर्थिक सहायता दिँदै आएको पौडेलको भनाइ छ।


