काठमाडौं– सडक विभागले बाढीपहिरोका मुलुकभरका ४८ स्थानमा एकतर्फी सडक सञ्चालन भइरहेको र चार वटा राजमार्ग पूर्ण अवरुद्ध भएको बताएको छ। विभागका अनुसार लगातारको बाढीपहिरोका कारण मुख्य राजमार्ग तथा सडक अवरुद्ध भइरहेका हुन्।
तमोर करीडोरअन्तर्गतको चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझीटारस्थित हेवाखोलामा अवरुद्ध छ। तानसेन–रिडी–कोरला जोड्ने सडक म्याग्दीको नौनीबगर, गुइथे आदि स्थानमा सडक अवरुद्ध रहेको छ।
यस्तै, बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेंसी जोड्ने पासाङ ल्हामु राजमार्ग पनि नुवाकोटको निगालेमा अवरुद्ध छ। यहाँ पहिरो पन्छाउने काम सकिएकाले सवारी सञ्चालन नियमित हुन थालेको विभागका इन्जिनियर सागर भण्डारीले जानकारी दिए।
पुष्पलाल मध्य पहाडी राजमार्ग पनि खोटाङको बेर्खेटारमा अवरुद्ध रहेको विभागले जनाएको छ।


