पोखरा- पोखरामा मिटरमा ट्याक्सी नचलेमा तत्काल जिल्ला ट्राफिक कार्यालय कास्कीलाई खबर गर्न आग्रह गरिएको छ। पोखरा उद्योग वाणिज्य संघले आइतबार पोखरामा आयोजना गरेको पोखराको सवारी व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जालीले यस्तो चेतावनी दिएका हुन्।
उनका अनुसार भदौ १ देखि नै पोखराका ट्याक्सीका लागि मिटर प्रणाली लागू भएको छ। यसलाई थप कडाइ गर्दै असोजबाट मिटरमा ट्याक्सी चल्न नमालेको खण्डमा १५ हजारसम्म जरीवाना गर्न निर्देशन दिएको जानकारी दिए।
भदौभर सम्मका लागि ट्राफिक नियम अनुसार कारबाही गर्न निर्देशन दिँदै मन्त्री जुग्जालीले एप अन्तर्गत इनड्राइभमा चल्न मान्ने तर अरु ट्याक्सीले किन नमान्ने भन्दै प्रश्न उठाएका थिए। ‘इनड्राइभमा चल्ने ट्याक्सी पानीले चल्ने त होइन होला। अरु ट्याक्सी किन मिटरमा चल्न मान्दैन? मैले नबुझेको कुरा यहाँ छ,’ उनले भने।
पोखरामा २०७७ सालमा मिटरमा ट्याक्सी संचालन भए पनि त्यसले निरन्तरता नपाएको अबस्थामा हाल आफूहरुले व्यवसायीहरुसँग छलफल गरी मिटरमा ट्याक्सी संचालन गर्ने विषयमा सहमतिअनुसार संचालन गरेको उनको भनाइ थियो।
संघका अध्यक्ष पवन प्रजापतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीका कार्यालयका प्रमुख डिल्लीराम रिजाज, जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवण कुमार बि.क., जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख भानु शर्मा, केही व्यवसायीहरुले पोखरामा ढुवानी, ट्राफिक व्यबस्थापन, ट्राफिक प्रहरीको जरीवाना अशुली, केही कानूनहरु नै संसोधन गर्नु पर्ने लगायतका सुझाव आएको संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्यले बताए।


