पोखरा–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणमा पोखरा तथा गण्डकी प्रदेशका उठ्नुपर्ने विषयका सम्बन्धमा पोखरामा छलफल गरिएको छ। पोखरा उद्योग वाणिज्य संघमा आयोजित छलफलमा वक्ताले प्रधानमन्त्रीको भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा सीधा अन्तर्राष्ट्रिय उडान, कोरोला नाका सञ्चालनलगायतमा छलफल हुनुपर्नेमा जोड दिए।
नेपाल उद्योग वाणिज्य महासंघ पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले सञ्चालनमा आएर पनि हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका सहरबाट सीधा उडान गर्ने विषयमा भ्रमणका क्रममा छलफल हुनुपर्ने बताए।
पोखरा विमानस्थलको हाल रहेको दुई हजार पाँच सय मिटरको धावन मार्गलाई थप पाँच सय मिटर बढाउने सम्बन्धमा पनि छलफल हुनु जरुरी रहेको उनको भनाइ छ। नेपाल–चीनबीचको कोरोला नाका सञ्चालनमा ल्याउने विषय पनि भ्रमणका क्रममा प्राथमिकतामा पर्नु आवश्यक रहेको उनले धारणा व्यक्त गरे।
कोरोला नाका चीनका लागि पनि सहज हुने भन्दै उनले चीन र भारतबीचको अन्तरदेशीय व्यापारका लागि पनि यो नाका सञ्चालनमा आउनु महत्त्वपूर्ण रहेको दाबी गरे। पोखरालाई पर्यटकीय गन्तव्यका लागि सूचीकृत गर्नुपर्ने, पोखरामा महावाणिज्य दूतावास स्थापना गर्नुपर्ने, प्रविधिको हस्तान्तरणलगायतका विषयलाई पनि प्राथमिकतामा राख्न सकिने उनले बताए।
पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष पवनकुमार प्रजापतिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान, कोरोला नाका सञ्चालनका साथै हङकङलगायतका सहरबाट पोखरामा सीधा उडानका विषय भ्रमणमा उठाइनुपर्ने आवश्यकता औंल्याए।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कसरी अन्तर्राष्ट्रिय उडान गर्न सकिन्छ भन्ने कुरा नै अहिलेको पहिलो आवश्यकता भएको बताए। कोरोला नाका सञ्चालनमा ल्याउन सके यहाँबाट कैलाश तथा मानसरोवरको यात्रा गर्न सकिने उल्लेख गर्दै उनले त्यसबाट लाखौं भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने सुनाए।
वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, मनिचेन्जर एसोसिएसन पोखराका अध्यक्ष रुपक मिश्र, माइकल कर्माचार्यलगायतले संकटमा परेको पोखराको पर्यटनलाई बचाउनुपर्ने आवश्यकता औँल्याए।प्राथमिकता तय गरी प्रधानमन्त्रीको भारत भ्रमणमा उठ्नुपर्ने विषयका रूपमा लिपिबद्ध गरिने उक्त अवसरमा जानकारी गराइयो।
१५ भदौमा पोखरा आउन लागेका प्रधानमन्त्री प्रचण्डलाई यस विषयमा भेटेर प्राथमिकताका विषयबारे अनुरोध गरिने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले जानकारी दिए।


