पोखरा– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका भ्रमणको क्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाल लगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुख रूपले कुरा उठाउने बताएका छन्।
शुक्रबार दिउँसो पोखरामा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तन नेपालको मात्रै नभएर सिंगो विश्वको मुद्दा भएको बताएका हुन्।
‘केही दिनपछि म संयुक्त राष्ट्रसंघको महासभामा जाँदैछु। यसपटक मैले जलवायु परिवर्तन र त्यसले नेपाल लगायत तेस्रो विश्वले भोग्नुपरेका समस्याबारे गम्भीर रूपले कुरा उठाउँछु,’ उनले भने, ‘आज जलवायु परिवर्तन र विश्व तापमान वृद्धिले सिंगो मानव जातिको भविष्यमा नै चुनौती खडा भएको छ। यसबारे गम्भीर रूपले बहस गरेर साझा समाधान खोज्ने बेला आएको छ। शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायबारे पनि गम्भीर कुराकानी हुन्छ।’
अमेरिकापछि लगत्तै आफू चीन जाने बताएका प्रचण्डले चीनसँग भौतिक पूर्वाधार सम्बन्धि काम अगाडि बढाउने विषयमा कुराकानी हुने बताए। ‘हिल्सा र कोरला नाका सञ्चालनमा ल्याउने पहल हुन्छ। चीनसँग पनि विद्युत व्यापार सम्झौता हुने विश्वास लिएका छौँ,’ उनले भने, ‘पोखरा र भैरहवा एयरपोर्ट सञ्चालनमा ल्याउनेबारे पनि गम्भीर छलफल हुन्छ। उत्पादन वृद्धिका लागि कृषिमा क्रान्ति जरूरी छ। त्यसबारे पनि चीनसँग कुराकानी हुन्छ।’


