काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले देशभर ५०० वटा चार्जिङ स्टेसन निर्माण गर्ने बताएका छन्। काठमाडौंमा सुरु भएको ‘नेपाल ईभी तथा नेपाल पावर लाइट एउण्ड इलेक्ट्रोनिक प्रदर्शनी’ मेला उद्घाटन गर्दै उनले देशका विभिन्न ठाउँमा चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरिरहेको बताए।
मुलुक क्रमशः ऊर्जामा आत्मनिर्भर हुँदै गएकाले विद्युतीय सवारीसाधन र उपकरणको प्रयोगलाई बढावा दिने उद्देश्यका साथ सरकारले आफ्ना नीति तथा कार्यक्रम अगाडि बढाएको उनको भनाइ छ।
देशभर पाँच सय वटा चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरी विद्युतीय सवारीसाधनलाई थप प्रवर्द्धन गर्दै लगिने नीति लिएको उनले बताए। यसअघि नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका ५० वटा चार्जिङ स्टेशन सञ्चालनमा आइसकेका छन्।


