काठमाडौं– अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताएका छन्। आज नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५औं वार्षिक साधारणसभा तथा अधिवेशनलाई काठमाडौं सम्बोधन गर्दै अर्थमन्त्री महतले सरकारले खस्कँदो अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गरिरहेको जानकारी दिएका हुन्।
उनले भने, ‘अर्थतन्त्रमा केही समस्या आएका छन्। विविध कारणबाट आएका यी समस्याको समाधानको आवश्यकता छ। राज्य संयन्त्रबाट जहाँ कमी–कमजोरी भएको छ, त्यहाँ सुधारका लागि निरन्तररुपमा लागिपरेका छौं।’ पर्यटक भित्रिने क्रम बढिरेहको, विदेशी मुद्राको पर्याप्त सञ्चिति र अन्य आर्थिक गतिविधि अघि बढाउनका लागि भएका समस्यालाई सहजीकरण गर्नेतर्फ मन्त्रालय लागिपरेको उनले बताए।
राजस्व संकल्प अपेक्षाअनुसार नबढे पनि तुलनात्मक रुपमा गत आर्थिक वर्षभन्दा सन्तोषजनक रहेको अर्थमन्त्री महतको भनाइ छ। राज्यका विभिन्न निकायले लिने निर्णयका कारण आर्थिक गतिविधिमा प्रभाव परेको उल्लेख गर्दै उनले आवश्यकताअनुसार सहजीकरण गर्न सरकार तयार रहेको विश्वास दिलाए। अर्थतन्त्र सुधारोन्मुख बनाउन सकारात्मक ‘डिस्कोर्स’को आवश्यकता भएको उनको धारणा छ।
‘राज्य संयन्त्रका सबै अंगले एउटै लयमा एउटै लक्ष्यका लागि काम गर्न नसक्दा पनि समस्या आएका छन्। निजी क्षेत्रमा लगानीको जोखिमलाई वास्तविकताको धरातलमा रहेर यथार्थ मूल्यांकन गर्न आवश्यक छ’, उनले भने। निजी क्षेत्रको गतिविधिलाई धेरै माइक्रो म्यानेजमेन्ट गर्नतर्फ लाग्दा समस्या आउने उल्लेख गर्दै उनले बृहत् नीतिगत ‘फ्रेमर्वक’ भित्र कार्यान्वयनमा लग्नुको महत्त्वबारे स्पष्ट पारे।
उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले दिएको सुझावलाई कार्यान्वगन गर्न सरकारसँग माग गरे। उनले सरकारी निकामनकारी निकायबाट प्रवाह हुने सूचनालाई सबैको पहुँचमा पुग्ने अवस्थातिर लैजान अर्थमन्त्री महतलाई सुझाए। उद्योग परिसंघका कार्यवाहक अध्यक्ष वीरेन्द्रप्रसाद पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले खस्कँदो अर्थतन्त्रलाई सुधार गर्न एकजुट भएर अघि बढन् आह्वान गरे।
कार्यक्रममा सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले नवीन प्रविधि र सामाजिक सञ्जालको बढ्दो प्रयोग पत्रकारिताका लागि चुनौती बन्ने बताए। उनले इमान्नारपूर्वक व्यावसायिक पत्रकारिता गर्न सुझाव दिँदै सेजनको नेतृत्व चयन निष्पक्ष र स्वच्छ रुपमा सम्पन्न गर्न सुझाव दिए।
सेजनका पूर्वअध्यक्ष गोकर्ण अवस्थी, पत्रकार महासंघका महासचिव रोशन पुरीलगायतले सेजन र समग्र पत्रकारिताको शुद्धीकरणबारे आ–आफ्नो धारणा राखे।


