काठमाडौँ- धानका विषयमा अध्ययन गर्न प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बंगलादेश जाने भएको छ। समिति सभापति आरजु राणा देउवाको नेतृत्वमा ६ सांसद बंगलादेश जाने भएका हुन्।
बंगलादेशको धान उत्पादन तथा अन्य कृषि क्षेत्रको अवस्था अवलोकन गर्न सचिवालयका एक जना कर्मचारी पनि सांसदको टोलीमा सहभागी हुनेछन्। असोजको दोश्रो साता उनीहरू बंगलादेश जाने भएका हुन्।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले भ्रमणमा जाने सांसदहरुको नाम छनौट गरेको छ। सांसदहरु अमरबहादुर थापा, अनिशा नेपाली, विनिता कठायत र सूर्यकुमारी श्रेष्ठ बंगलादेश जान लागेका हुन्। माओवादीबाट प्रतिनिधित्व गर्ने सांसदको नाम भने टुंगो लाग्न बाँकी छ।
समितिका उपसचिव शिवदत्त बरालपनि भ्रमणमा सहभागी हुनेछन्।


