ताप्लेजुङ– नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौँ सुकेटार उडान सुरु गरेको छ। खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौँ सुकेटार उडान हुन सकेको थिएन।
मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए।
लामो समयपछि भएको उडानमार्फत काठमाडौँबाट ६ यात्री ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमाडौँ गएका छन्। पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उनको दाबी छ।
करिब एक हजार आठ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ।
यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ। काठमाडौँ-ताप्लेजुङको भाडा यसअघि रु ९ हजार ६५३ थियो भने हाल घटाएर ८ हजार ६०० कायम गरिएको छ। यस्तै ताप्लेजुङ-काठमाडौँको भाडा यसअघि रु ९ हजार ४५३ भएकोमा यसलाई घटाएर ८ हजार ४ सयमा झारिएको छ।
मौसममा क्रमशः सुधार आएको र चाडबाड नजिकिएकाले नियमितरुपमा उडान हुने विमानस्थलको विश्वास छ। यस्तै पर्यटनको समेत सिजन लागेकाले यात्रुको अभावसमेत नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ।
ताप्लेजुङ विमानस्थलमा पटकपटक हवाइ सेवा सुरु हुँदै बन्द हुँदै आएको छ। दसैँका आसपास हवाइ सेवा सञ्चालन गरिएका समाचार आउने तर केही सातामै बन्द हुँदै आएको भन्दै स्थानीयले पछिल्लो पटक सुरु भएको उडान सेवा पनि दिगो हुनेमा शंका व्यक्त गरेका छन्। -रासस


