पोखरा- भूटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुक एयरले पोखरामा पहिलोपटक उडान गरेको छ। जहाजले बिहान पौने ७ बजे ड्रुकले पोखरामा अवतरण गरेको हो। पोखरामा अन्तर्राष्ट्रिय जहाज आएको यो दोस्रो पटक हो। यसअघि चीनको छेन्दुबाट सिचुआन एयरलाइन्सले असार ६ गते उडान गरेको थियो।
जहाजमा आउने यात्रुलाई स्वागत र पोखराबाट भुटान जानेलाई बिदाई गण्डकी प्रदेशका पर्यटनमन्त्री दीपेन्द्रबहादुर थापा, पोखराका मेयर धनराज आचार्य, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले गरेका थिए।
अमेरिकी पर्यटकले ड्रुकलाई चार्टर गरेर पोखरा आएका हुन्। पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा ड्रुक आउनु सुखद् भएपनि यसलाई व्यावसायिक बताउनुपर्ने बताए।
चार्टर्ड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडानको समेत आश्वासन दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको दाबी छ।
१ जनवरी २०२३ का दिन उद्घाटन भएको यो विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आउन सकेको छैन। करिब २३ अर्ब ऋण लगानीमा बनाइएको यो विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आउन नसक्दा लगानी चुक्ता गर्न गर्न अझ लामो समय लाग्ने देखिएको छ।


