काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा ५० जनालाई बनाउँदै करिब तीन अर्ब बिगो माग गर्न सरकारी वकिलको कार्यालयलाई राय दिएको छ।
सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउनुअघि पत्रकार सम्मेलन गर्दै ब्युरोले किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउँदै उनीहरूमाथि विभिन्न सात वटा कसुर लगाउन सिफारिस गरिएको जानकारी दिएको छ।
भन्सार ऐन, संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, अपराधसंहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबारहीका लागि सिफारिस गर्ने गरी अनुसन्धान प्रतिवेदन तयार पारिएको सीआईबी प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन्।
उनले अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहहरूले विभिन्न सात वटा कम्पनीबाट तीन सय ६२ भन्दा बढी किलो सुन तस्करी गरेको खुलेको पनि जानकारी दिइन्।
अहिलेको मूल्यमा तीन अर्ब ५० करोड दुई लाख १६ हजार बराबरको सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि राय दिइएको उनले बताइन्।
सुन तस्करी प्रकरणमा अहिलेसम्म ३२ जना पक्राउ परेका छन्। त्यसमध्ये २३ जना नेपाली र ९ जना विदेशी रहेका छन्। १८ जना फरार रहेको बज्राचार्यले जानकारी दिइन्।
सीआईबीले प्रत्यक्ष रूपमा ४२ जनाको टोलीले ३५ दिनसम्म अनुसन्धान गरेको र प्राविधिक पाटोसहितलाई हेरेर अनुसन्धानलाई थप वैज्ञानिक बनाउने काम गरिएको जनाएको छ।
तस्करहरूले विभिन्न सात वटा कम्पनीबाट सुन तस्करी गरेको र अहिले रेडिलिंक ट्रेडका नाममा आएको सुनको मात्रै अनुसन्धान सकिएको बज्राचार्यले बताइन्।
गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।
विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिएको थियो।
सीआईबीले बुधबार नै सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ।


