काठमाडौं– हेटौंडा औद्योगिक क्षेत्रमा चलिरहेका उद्योगले आर्थिक मन्दीका कारण कुल क्षमताको ४० प्रतिशतले उत्पादन कटौती गरेका छन्। हेटौंडा उपमहानगर–८ मा रहेको सो औद्योगिक क्षेत्रमा एक सय १५ वटा विभिन्न प्रकृतिका उत्पादनमूलक उद्योग सञ्चालनमा छन्। तीमध्ये अधिकांश उद्योगको अवस्था कमजोर एवं नाजुक रहेको बताइएको छ।
हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापनका अनुसार उक्त औद्योगिक क्षेत्रमा तीन सिफ्टमा सञ्चालन हुने उद्योग अहिले एक सिफ्टमा सञ्चालन भइरहेका छन्। साथै, कतिपय उद्योग कहिले चल्ने र कहिले बन्द हुने अवस्थामा छन्। त्यहाँ सञ्चालित उद्योगको उत्पादन र बिक्रीसमेत घट्दै गएको छ।
औद्योगिक क्षेत्र व्यवस्थाप हेटौंडा कार्यालयका प्रमुख भोजराज विराडीका अनुसार उद्योगको अवस्था विगत तीन वर्षदेखि दिनप्रतिदिन खस्किँदै गएको र लगानीअनुसार प्रतिफल प्राप्त नभई घाटा बढ्दै गएको छ।उद्योगको वर्तमान अवस्थाका सम्बन्धमा उद्योगीले दिएको जानकारी तथा गुनासोका आधार आफूले उत्पादनमा कटौती गरेको जानकारी पाएको उनको भनाइ छ।
विगत तीन वर्ष अगाडि फैलिएको कोरोना महामारीका साथै विभिन्न कारणले भएकोे आर्थिक तथा व्यावसायिक मन्दीले उद्योग र व्यवसायको अवस्था उठ्न नसकेको उनको भनाइ छ। सो औद्योगिक क्षेत्रमा एक सय ४७ वटा सरकारी र निजीसहित एक सय ४७ औद्योगिक प्रतिष्ठान रहेको र तीमध्ये एक सय १५ वटा उद्योग सञ्चालनमा छन् भने ९ वटा उद्योग बन्द भइसकेका छन्।
त्यसैगरी २३ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेको र उद्योगमा कामदारको संख्या पाँच हजार रहेको सो कार्यालयको तथ्यांकमा उल्लेख छ। औद्योगिक क्षेत्रमा निजी क्षेत्रको तर्फबाट ५ अर्ब ५५ करोड र सरकारी क्षेत्रबाट ९० करोड लगानी रहेको छ। सो उद्योगबाट औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई मासिक तीन करोड भाडा उठ्ने गरेको छ तर उद्योगको अवस्था नाजुक रहेकाले भाडा दिनमा समेत समस्या रहेको उद्योगको गुनासो छ।
सञ्चालनमा रहेका उद्योगबाट उत्पादित सामग्रीको लागत धेरै हुनु, उत्पादित सामग्री बिक्री नहुनु तथा आर्थिक मन्दीको कारणले उद्योगको अवस्था नाजुक भएको उद्योग वाणिज्य संघ हेटौंडाका अध्यक्ष कृष्णकुमार गुप्ताको भनाइ छ।
‘अहिले बजारको अवस्था नाजुक छ। पसल र सटर खाली हुँदै गएको छ। उद्योगबाट उत्पादित सामान बिक्री हुँदैन र यो गम्भीर समस्या हो’, उनले भने। ‘उद्योगका लागि बैंकबाट लिएको ऋणको ब्याजसमेत तिर्न समस्या भएको र थप उद्योगमा लगानी गर्न बैंकले ऋणसमेत दिँदैन’, हेटौंडाका फर्निचर उद्योगी रामपुकार ठाकुरले भने। देशमा उद्योगी र व्यवसायी पलायन हुने अवस्था हँुदै गएको र व्यापार घाटाले हरेक व्यक्तिको विदेश जाने चाहना रहेको पाइएको प्राध्यापक डा. योगेन्द्र यादवले बताए। स्वदेशमा रोजगारी वातावरण बनाउन उनले सुझाए।
सो औद्योगिक क्षेत्रमा निर्माण सामग्री उद्योग पाँच, प्लाष्टिक सामग्री उद्योग २८, विद्युतीय सामग्री उद्योग तीन, खाद्यान्न तथा पेय पदार्थ उद्योग ११, फर्निचर सामग्री उद्योग छ, इन्जिनियरिङ सेवातर्फ १५, प्याकेजिङ सामग्रीतर्फ पाँच, केमिकल सामग्रीतर्फ ११, पोल्ट्री तथा दाना उद्योगतर्फ दुई, टेक्सटायल उद्योगतर्फ एक, खानीजन्य उद्योगतर्फ तीन र अन्य उद्योगतर्फ १० उद्योग छन्। त्यस्तै, सो औद्योगिक क्षेत्रभित्र सरकारी र गैरसरकारी कार्यालय तथा संघसंस्थातर्फ ११ कार्यालय छन्।–रासस


