हाङ्जाओ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी चीनफिङबीच भेटवार्ता सम्पन्न भएको छ।
चीनको साताव्यापी भ्रमणका लागि शनिबार चीनको हाङ्जाओ आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।
वार्तामा दुवै नेताबीच यस क्षेत्रको क्षेत्रीय स्थिरता, शान्ति र समृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्यका विषयमा छलफल भएको थियो। आपसी चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको सचिवालयको दाबी छ।
यस्तैगरी राष्ट्रपति सीले वार्तामा नेपालको आर्थिक, सामाजिक विकासमा खुल्ला दिलले सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिएका थिए।
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच ‘वान टु वान’ र प्रतिनिधि मण्डलसँग सामूहिक रुपमा समेत गरी एक घण्टा लामो वार्ता भएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ।

राष्ट्रपति सीले शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठूलो र सानो देशको कुनै भेदविना समान सहअस्तित्वका साथ अत्यन्तै नजिकको सम्बन्ध अघि बढाएको स्मरण गर्दै आगामी दिनमा दुई देशबीचको सम्वन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरेका थिए।
प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीच विगत लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा सीले अघि सारेका नवीनतम् अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्वपूर्ण रहेको बताएका थिए।
नेपालले एक चीन नीतिप्रतिको प्रतिबद्धता व्यवहारवाटै पुष्टि गरेको बताउँदै नेपालले स्वतन्त्र र असंलग्न परराष्ट नीति अंगीकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रचण्डको भनाइ थियो।
धानमन्त्री प्रचण्डले चीनले अघि सारेको वेल्ट एण्ड रोड अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले यसअघि नै नेपालले उक्त अवधारणामा सहमति जनाइसकेको स्मरण गरेका थिए।
सीले दुई देशबीचका सम्वन्ध र विश्वासलाई अझ सुदृढ गर्ने बताएका थिए।


