बेइजिङ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका छन्।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले बेइजिङमा आयोजित नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
नेपालमा लगानीको वातावरण बनेकाले र यसको लाभ लिन उनको आग्रह थियो।
चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले आयोजना गरेको सम्मेलनमा उनले भने, ‘नेपालमा लगानीको वातावरण राम्रो बनेको छ।’
लगानीमैत्री वातावरण बनाउन सम्बन्धित नीति तथा कानून संशोधन तथा अद्यावधिक गरिएको प्रधानमन्त्रीको भनाइ थियो।
प्रधानमन्त्री दाहालले पर्यटन, पूर्वाधार, उर्जा, कृषि, औषधिलगायतका क्षेत्रमा लगानीको राम्रो सम्भावना भएको उल्लेख गरेका थिए।
नेपालमा कर पनि तुलनात्मक रूपमा कम रहेको उनको भनाइ थियो।
सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले नेपाल र चीनबीचको सम्बन्ध प्राचीन तथा ऐतिहासिक भएको उल्लेख गरेका थिए।
पाँचौँ शताब्दीमा नेपाली भिक्षु बुद्धभद्रले चीनको भ्रमण गरेको र सातौँ शताब्दीमा नेपालकी राजकुमारी भृकुटीको तिब्बतका राजा स्रङचङ गम्पोसँग विवाह गरेको इतिहासले दुई देशबीचको सम्बन्ध पुरानो र सुमधुर रहेको उनले उल्लेख गरेका थिए।
१३औँ शताब्दीमा नेपाली कलाकार अरनिकोले चीन आएर वास्तुकलामा योगदान गरेको सम्झिएका प्रधानमन्त्री दाहालले हिमालवारि र हिमालपारिको व्यापार उसैबेलादेखि सुरु भएको पाइएको बताएका थिए।
सन् २०२६ मा अति कम विकसित देशबाट विकासोन्मुख देशमा स्तरोन्नति हुने तयारीमा रहेको भन्दै सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा पुग्ने लक्ष्य नेपालले लिएको उनले बताएका थिए।
कार्यक्रममा चीनका वाणिज्य उपमन्त्री ली फाइले नेपाल र चीन सदियौँदेखिको घनिष्ट मित्र भएको भन्दै चीनले नेपालको सदैव उन्नति र समृद्धि देख्न चाहेको बताएका थिए।
दुई देशबीच विभिन्न क्षेत्रमा लगानीका अधिक सम्भावना रहेकाले आपसी समृद्धि, विकास र आर्थिक उन्नतिका लागि नेपालमा लगानीका क्षेत्र पहिचान गर्नका लागि दुवै देशले सामूहिक प्रयास गर्नेमा जोड दिए।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ लगानीकर्ताका लागि नेपाल लगानीको विश्वासिलो गन्तव्य भएकाले चिनियाँ लगानीको अपेक्षा रहेको बताएका थिए।
चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीका उपाध्यक्ष झाङ शाङगङले नेपालमा लगानीका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ र सिसिपिआइटीको संयुक्त प्रयासमा लगानीका क्षेत्र पहिचान गरी लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
नेपाल उद्योग वाणिज्य महासङ्घका प्रत्यक्ष वैदेशिक लगानी एवं अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति मनोज पौडेलले नेपालमा युवा जनशक्तिको सङ्ख्या ठूलो भएको उल्लेख गर्दै नेपालमा युवा उद्यमशीलता समेत बढेको सुनाएका थिए।


