काठमाडौँ- नेपाल र चीनबीच विभिन्न १३ समझदारीमा हस्ताक्षर भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको टोली र चिनियाँ प्रधानमन्त्री लि छ्याङको टोलीबीच छलफलपछि ती सम्झौतामा हस्ताक्षर भएको हो।
नेपाल र चीनबीच कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, पूर्वाधार, व्यापारसँग सम्बन्धित विषयमा समझदारीमा हस्ताक्षर भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
वार्तामा नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद्बीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
सम्झौताको आधिकारिक जानकारी दुवै पक्षको संयुक्त वक्तव्यमार्फत् जानकारी गराइने बताइएको छ।



