काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले अभियन्ता ईको समूहलाई वार्तामा बोलाए पनि नआएको प्रतिक्रिया दिएका छन्। आफूलाई चुनावी वाचा सम्झाउन महानगरको कार्यालय राष्ट्रिय सभागृहअगाडि उभिइरहेका अभियन्ता ईःबारे मेयर बालेन्द्रको यस्तो प्रतिक्रिया आएको हो।
चमेली समूहका अभियन्ता ई सात दिनदेखि राष्ट्रिय सभागृह अघि उभिएर बालेन्द्रका कामको विरोध गरिरहेका छन्। फेसबुकमा उनले संवादमा बोलाउँदा नआउने ईःलगायतका अभियन्ताका नेतासँग वार्ता गर्नुपर्ने? भनेर प्रश्न उठाएका हुन्। आफूले आफैँ गएर बोलाउँदा पनि वार्तामा नआएको बालेनको भनाइ छ।
‘विगत केही दिनदेखि केही अभियनताहरू आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैं गएर वार्ता गरौं, यहाँहरूको कुरा र समस्या सुनौं भन्दा अभियन्ताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन,’ शाहले लेखेका छन्, ‘लोकतान्त्रिक अभ्यासमा सबै कुराको समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेका छौं, सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौं । के वार्ता हामीले उहाँहरूको नेतासँग गर्नपर्ने?’
यता सामाजिक अभियन्ता ई:ले भने मेयर शाहले संवादका लागि कुनै पहल नगरेको दाबी गरेका छन् । शाहले सामाजिक सन्जालबाट लेखेवित्तिकै अभियन्ता ई: ले त्यसबारे प्रतिकार गरेका हुन्। मेयर आफैं नआएर केही बेर अघिमात्रै नगर प्रहरी पठाएर आफूहरूलाई संवादमा आउन भनेको समेत उल्लेख गरेका छन्।
‘मेयर यहाँ आउनुभएको होइन। सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन्। करिब २० मिनेट अगाडि अकस्मात् एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए। हामीले कानुन विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं। नगर प्रहरीले रिसाएर जवाफ दिए- ‘त्यसो भए मेयरले भेट्दैन!’
मेयर शाहले चुनावअघि गरेको वाचा र सार्वजनिक प्रतिबद्धताविपरीत सहरको सबैभन्दा कमजोर र ‘हुँदा खाने’ वर्गको गाँस खोस्ने काम गरेको भन्दै ई:ले उभिएर विरोध थालेका हुन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ईसँग वार्ता गर्न मेयर बालेन्द्रलाई फेसबुक स्टाटसमार्फत् आग्रह गरेका थिए। अभियन्ता ई: लगायतका साथीहरूका बारेमा काठमाडौँ महानगर प्रमुखसँग भेटेरै कुरा गर्न कोसिस गरेको पनि बताएका थिए।
‘फुटपाथ व्यवसायीको विस्थापन होइन उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागका विषयमा सहरको अन्य आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने ठाउँहरू छन्,’ उनले भनेका छन्, ‘सँगै बसेर कुरा गरेपछि, एक अर्काको मत, दृष्टिकोण सुनेपछि, बुझेपछि एउटा उपाय निस्कन्छ नै। त्यस कारण मेरो आग्रह छ- निर्वाचित सरकारसंग जवाफदेहिता खोजिरहनुभएका अभियन्ता साथीहरू र महानगरबीच शीघ्र संवादको वातावरण बनोस्।’


