काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लङ्घन गर्ने दुई हेलिकोप्टर कम्पनीका ‘एएस–३५० बी३ई’ हेलिकोप्टरको उडानमा रोक लगाएको छ।
लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लङ्घन गरेको भन्दै प्राधिकरणले श्री एयरलाइन्स र फिस्टेल एयरका हेलिकोप्टरलाई ग्राउन्डेड गरिदिएको हो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मौसम सफा भएर उडान भर्नुपर्ने मापदण्ड उल्लङ्घन गरेकाले दुई कम्पनीका तीन हेलिकोप्टरलाई ग्राउन्डेड गरिएको बताए।
‘दुई कम्पनीका हेलिकोप्टरले भिजिबिलिटी एक सय मिटर नभएको अवस्थामा समेत ‘भिएफआर’ नियम मिच्दै हेलिकोप्टर उडाएपछि प्राधिकरणले ती दुई हेलिकोप्टरलाई ग्राउन्डेड गरिएको हो,’ प्रवक्ता भुलले भने, ‘अर्को निर्णय नभएसम्म ग्राउन्डेड गरिएको हो।’
हेलिकोप्टर उडानका लागि ‘कन्ट्रोल एयरस्पेस’मा कम्तीमा पाँच हजार र ‘अनकन्ट्रोल एयरस्पेस’मा एक हजार पाँच सय भिजिबिलिटी चाहिन्छ।
तीन हेलिकोप्टरको उडानको ‘भिजुअल’का आधारमा ‘क्रिटिकल’ उडान अर्थात् झण्डै दुर्घटनाबाट जोगिएको पाइएका आधारमा ग्राउण्डेड गरिएको प्राधिकरणले स्पष्ट पारेको छ।


