काठमाडौँ- ७ वटा जलविद्युत् कम्पनीहरुको प्रारम्भिक सेयर निष्कासन (आइपीओ) पाइपलाइनमा छ। आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन)मा निवेदन दिएर ७ हाइड्रो तयारी अवस्थामा छन्।
झन्डै डेढ अर्ब रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने गरी ७ वटा जलविद्युत् कम्पनी ‘पाइपलाइन’मा रहेको सेबोनले जानकारी दिएको छ।
हिम स्टार ऊर्जा कम्पनी लिमिटेड ११ लाख १९ हजार कित्ता प्रतिकित्ता आईपीओ जारी गर्ने प्रक्रियामा छ। रु १०० का दरले आईपीओ निष्कासन गर्न उसले एनआइसी एसिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
त्यस्तै, दरमखोला हाइड्रोपावर इनर्जी कम्पनी लिमिटेड ३९ करोड ५० लाख बराबरको आइपीओ ल्याउने तयारीमा छ। लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरी कम्पनीले आईपीओ ल्याउँदैछ।
भुजुङ हाइड्रोपावर लिमिटेडले १४ करोड ५५ लाख बराबरको आइपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ। कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त ग गरेको छ।
बोर्डमा आइपीओका लागि निवेदन दिने अर्को कम्पनी हो, सन्भी इनर्जी कम्पनी। उक्त कम्पनीले ३७ करोड ९० लाख रुपैयाँ बराबरको आइपीओ ल्याउँदैछ। कम्पनीले पनि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ।
त्यस्तै, रिचेत जलविद्युत् कम्पनी पनि ११ करोड ७६ लाख ४५ हजार बराबरको आइपीओ निष्कासन गर्ने मितिको प्रतीक्षामा छ। एनआइएमबी एसीइ क्यापिटल लिमिटेडलाई उले बिक्रि प्रबन्धक तोकेको छ।
बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले पनि २० करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ ल्याउँदै छ। एनएमबी क्यापिटल लिमिटेड बिक्री प्रबन्धक तोकी बोर्डमा निवेदन दिइसकेको छ।
२०८० जेठ २६ गते आईपीओ निष्काशन गर्न अनुमति माग्दै सानिमा हाइड्रोपावर लिमिटेडले निवेदन दिएको छ। १४ करोड ७० लाख बराबरको आइपीओ निष्कासनका लागि उसले काम गरिरहेको छ।
भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले १ अर्ब ९१ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासनको अनुमतिका लागि निवेदन दिएकोमा बोर्डबाट स्वीकृति पाइसकेको छ।
धितोपत्र बोर्डले कम्पनीले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको ६० प्रतिशत निर्माण सम्पन्न भएका र अन्य सर्तका आधार हेरेर आइपीओ निष्कासनको अनुमति दिने गरेको छ।
हाइड्रोले सेयर जारी गर्दा आयोजना प्रभावितहरूका लागि पनि कोटा छुट्याउनुपर्ने व्यवस्था छ।
आईपीओ निष्काशनका लागि निवेदन प्राप्त भएका कम्पनीहरूको विवरणमाथि अध्ययन गरी प्रतिक्रिया दिने प्रक्रियामा काम भइरहेको सेबोनले जानकारी दिएको छ।


