काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महत मोरोक्कोकव मारकेस प्रस्थान गरेका छन्।
विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन मन्त्री महत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मोरोक्को प्रस्थान गरेका हुन्।
अक्टोबर ९ देखि १५ सम्म हुने बैंकको बैठकको मूल नारा ‘ग्लाेबल एक्सन, ग्लाेबल इम्प्याक्ट’ भन्ने रहेको छ।
बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सृजनालगायत विश्वव्यापी चासोका विषयहरूमा छलफल हुने बताइएको छ।
विश्व बैंकको मूल कार्यक्रमसँगै अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का एसिया प्यासिफिक हेर्ने उपाध्यक्ष रिकार्डो पुलितीसँग अर्थमन्त्री डा. महतले नेपालमा निजी लगानीको सम्भाव्यता विषयमा छलफल गर्ने कार्यक्रम छ।
त्यसैगरी युएसएआइडीसँग नेपाल र अमेरिकाबीचको विकास साझेदारीका विषयमा छलफल हुनेछ।
सहुलियतपूर्ण वित्तीय व्यवस्थामा पहुँच सम्बन्धी जोखिम तत्वको विषयमा छलफल, विल एण्ड मेण्डिला गेट्स फाउण्डेसनसँग सार्वजनिक डिजिटल पूर्वाधारका माध्यमबाट समावेसी एवं चुनौतिसँग जुध्न सक्षम आर्थिक विकासका सम्बन्धमा छलफल, दक्षिण कोरियाका उप प्रधानमन्त्रीसँग साइडलाइन वार्ता गर्ने अर्थमन्त्री डा. महतकाे कार्यसूची रहेकाे छ।
त्यसैगरी अर्थमन्त्री डा. महतले स्ट्यान्डर्ड एण्ड चार्टर्ड बैंक एवं क्रेडिट रेटिङ सम्बद्ध संस्था फ्लिच रेटिङ, अन्तर्राष्ट्रिय मूद्रा कोष, विश्व बैंकको कोष समूह, अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) र बहुपक्षीय लगानी सुरक्षण एजेन्सी (एमआईजीए)का उपाध्यक्षसँग द्विपक्षीय वार्ताकाे कार्यक्रम तय भएकाे छ।
बैठकमा अर्थमन्त्रालयबाट अर्थमन्त्री डा. महत, अर्थसचिव डा. कृष्णहरी पुष्कर, अन्तर्राष्ट्रिय विकास सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल, उपसचिव डा. नारायण ढकाल र अर्थमन्त्रीका निजी सचिव होम पराजुली भ्रमण टोलीमा सदस्य छन्।
बैठकमा विश्वभरका १८९ देशका अर्थ तथा विकास मन्त्रीहरू, केन्द्रीय बैंकरहरू, निजी क्षेत्रका अधिकारीहरू, नागरिक समाज, सञ्चारमाध्यम र प्राज्ञिकहरूको सहभागिता रहनेछ।


