काठमाडौं- सरकारले आउँदै गरेको दशैंका बेला सहज यात्राका लागि दुई वटा राजमार्गका केही सडकखण्डको मर्मत गर्ने तयारी गरेको छ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा मंगलबार बसेको चाडपर्व लक्षित यातायात व्यवस्थापन गर्ने सम्बन्धमा बसेको सरोकारवाला निकायका पदाधिकारीको बैठकले सडक मर्मत गर्ने निर्णय गरेकाे हाे।
खासगरी नारायणगढ देखि बुटवल खण्डको कावासोती, चोरमारा, दाउन्ने सडक खण्ड र पोखरा–मुग्लिन सडक खण्ड अन्तर्गत कोत्रेबाट २१ किमि काठमाडौंतर्फको सडक सवारी साधन सञ्चालन गर्न सहज हुने हिसावले मर्मत गर्ने निर्णय गरेको हो।
उक्त सडक मर्मतको काम सडक विभागबाट तत्काल गराउने गरी निर्णय गरिएको विभागका महानिर्देशक रिजालले बताए। त्यतिमात्र होइन, ती सडकखण्डमा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको ढुवानी गर्नेबाहेकका ठूला सवारी साधनलाई नारायणगढ–काठमाडौं सडकमा २६ असोजबाटै रोक्ने बैठकले निर्णय गरेको छ।
तर, यात्रुबाहक सवारी साधनको सहजताका लागि मालबाहक ठूला सवारी साधन रोक्ने निर्णय भएको हो। यो निर्णय ८ कात्तिकसम्म लागू हुने भएको छ। रुट परमिट खुला हुने दिन समेत अब अगाडि सारिएको छ।
यसअघि घटस्थापनादेखि देशभर रुट परमिट खुला गर्ने निर्णय भएकोमा अब भने २६ असोजदेखि रुट परमिट खुलाउने निर्णय भएको विभागले जनाएको छ।


