काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजीक्षेत्रको मनोबल बढाउने विषयमा सरकार सकारात्मक हुनुपर्ने बताएका छन् । महासंघको बागमति प्रदेश सभामा बोल्दै उनले सरकारी तवरबाट भएका प्रतिवद्धता कार्यान्वयनमा नआउँदा दुःख लाग्नु स्वभाविक रहेको बताए ।
‘निजी क्षेत्रको मनोबल बढाउने विषयमा सरकार सकारात्मक हुनुपर्छ। हामीले निजी क्षेत्रको मर्यादाक्रमको विषय पनि उठाएका छौँ। प्रधानमन्त्री तथा मुख्य सचिव सकारात्मक हुँदाहुँदै पनि काम हुन सकेको छैन।’ उनले भने, ‘ सरकारी तवरबाट भएका प्रतिबद्धता कार्यान्वयनमा नआउँदा हामीलाई दुस्ख लाग्नु स्वाभाविकै हो।’
उनले कतिपय अवस्थामा मन्त्रिपरिषद्ले गरेको निर्णयहरु समेत कार्यान्वयनमा आउन नसकेको बताए । ‘यहाँसम्म कि कतिपय अवस्थामा त मन्त्रिपरिषद्का निर्णय नै कार्यान्वयन हुन नसकेको अनुभव पनि हामीसँग छ। कार्यान्वयनमा हुने ढिलासुस्ती हटाउनुपर्छ भन्ने हाम्रो भनाइ हो।’ उनले बताए ।


