काठमाडौँ- पछिल्लो पाँच वर्षको अवधिमा नेपालको फूलको उत्पादन र कारोबारमा वृद्धि भएको देखिएको छ। दुई वर्षयता भने फूलको कारोबारमा उल्लेख्य सुधार आएको नेपाल फ्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान)ले जनाएको छ।
फ्यानका अनुसार नेपालमा फूलको हरेक वर्ष १० देखि १५ प्रतिशतसम्म वार्षिक कारोबार वृद्धि भइरहन्छ। त्यसमा पनि हरेक वर्षको तिहार तथा दीपावलीका समयमा फूलको कारोबार औसतमा बढी हुन्छ। कोरोना संक्रमण घटेसँगै देखिएको फूलको कारोबार वृद्धिले पुष्प व्यवसायीहरु पनि उत्साहित छन्।
आर्थिक वर्ष २०७९/८० देखि पुष्प व्यवसायले गति लिन थालेको फ्यानका अध्यक्ष मीनबहादुर तामाङ बताउँछन्। उनका अनुसार हाल ४८ जिल्लामा लगभग २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ। १११६ भन्दा बढी (नर्सरी–५०५, कट फेलावर उत्पादक–८०, कट फ्लावर खुद्रा व्यवसायी–१३७, पुष्प थोक व्यवसायी–४, ईनपुट सप्लायर्स–२५ र लुज फ्लावर उत्पादक –३६५) पुष्प व्यवसायमा संलग्न छन्।
पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरेर ४४ हजार भन्दा बढी जनशक्तिहरु रोजगार रहेको छ।
पाँच वर्षमा यस्तो छ फूलको कारोबार
आव २०७५/७६ मा पुष्पको बार्षिक कारोबार रु. २ अर्व ४२ करोड रहेकोमा आव२०७६/०७७ र आव०७७/७८ मा वर्षै भरी कोभिड–१९ महामारीको कारण भएको निषेधाज्ञा र लकडाउनले गर्दा व्यवसायिक कारोबारमा कमी आई जम्मा रु.१ अर्ब ६३ करोड मात्र भएको थियो।
तथापि आव २०७८/०८९ मा कोभिड–१९ को असर कम हुँदा समग्र व्यावसायिक तथा आर्थिक क्षेत्रहरु केही चलायमान र सुधारउन्मुख हुँदा आव२०७७/०७८ को तुलानामा करिब ३० प्रतिशत ले पुष्पको वार्षिक कारोबारमा वृद्धि भई रु.२ अर्ब ३० करोड हाराहारीमा कारोबार भएको थियो।
त्यस्तै, यस आव ०७९/८० मा रु. ३ अर्ब ७ करोड भन्दा बढीको कारोबार भएको छ। आव२०७८/०७९ को तुलनामा यस आर्थिक वर्ष ०७९/८० मा करिब ३३.६३ प्रतिशत ले बार्षिक कारोबारमा वृद्धि भएको छ।
बर्सेनि १० देखि १५ प्रतिशतका साथ फूलको कारोबार बढिरहेको फ्यानले दाबी गरे पनि स्वदेशी फूलले माग धान्न भने सकेको छैन। पछिल्ला वर्षहरुका चाडपर्वहरुमा पनि भारतलगायत अन्य मुलुकबाट फूल आयात भइरहेको तथ्यांकले देखाइरहेको छ।
आर्थिक वर्ष ०७९/८० मा भारतलगयात अन्य मुलुकबाट ३३.०६४८ करोड बराबरको फूल नेपाल आयात भएको भन्सार विभागको तथ्यांक छ। स्वदेशी पुष्प व्यवसायीको संरक्षण गर्दै सरकारले फूल उत्पादनमा जोड दिँदै नेपाललाई फूलमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध हुनु जरुरी छ।


