काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कडा प्रतिस्पर्धाका बाबजुद पनि नेपालमा दलहरूबीच भाइचाराको संस्कार रहेको बताएका छन्।
४८औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा पार्टीले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्।
‘नेपाल सानो देश हो। पार्टीका वैचारिक मतभेद र पार्टीगत प्रतिस्पर्धा भए पनि नेपालमा एउटा राम्रो कुरा के छ भने सबै पार्टीहरू एक ठाउँमा बस्ने संस्कार बनेको छ, सायद धेरै कम देशमा यो संस्कार छ। मान्छे छक्क पर्छन्,’ देउवाले भने, ‘जस्तो कांग्रेसको महाधिवेशन, जन्मजयन्ती मनाउँदा विदेशबाट आएका मानिस त छक्कै पर्छन्।’
दलहरूबीच कडा प्रतिस्पर्धा हुने भएपनि आफूहरूबीच बोलीचालीदेखि आपसमा भाइचाराको वातावरण भएक तर यस्तो धेरै कम देशमा रहेको उनले बताए। ‘यसमा बिपी कोइरालाले ल्याएको मेलमिलापको नीतिमा यसको केही न केही प्रभाव छ,’ उनको भनाइ थियो।

सभापति देउवाले सबै दलहरूलाई एक भएर जान पनि आह्वान गरेका थिए। उनले बिपीले लिएकै मेलमिलापको नीति आफूहरूले अपनाएको दाबी गरेका थिए।
‘अहिले बेला फरक भए पनि बिपीले अपनाएकै मेलमिलाप नीतिमा हामी छौं,’ उनले भने, ‘कुरा उही हो। मेलमिलाप भनेको त्यो बेला राजासँग मात्र थिएन। अहिले त राजा हटिसकेको बेला छ। पार्टीहरूका बीचमा मेलमिलाप हुने हो।’
उनले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति दलहरू एक रहेको बताए। ‘गणतन्त्रको विकल्प गणतन्त्रबाहेक अरू केही हुन सक्दैन,’ देउवाले भने, ‘राष्ट्रका महत्वपूर्ण बुँदामा केन्द्रित भएर दलहरूबीच छलफल गर्दै एक भएर जाऔं।’
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, डा बाबुराम भट्टराईलगायत सहभागी थिए।
बालकुमारीमा जसरी २ युवाको हत्या भएको छ, योभित्र अर्कै केही छ : प्रधानमन्त्री
कांग्रेस सत्ताको अमनचैनमा छ, तरंग ल्याउने पक्षमा म छैन : ओली


