काठमाडौँ- मिटरब्याजी श्याम परदेशी (श्यामकरण साह)ले सम्पत्ति शुद्धीकरणको अभियोगमा सफाइ पाएका छन्।
विशेष अदालतले उनीमाथि लगाइएको सम्पत्ति शुद्धीकरणको अभियोग पुष्टि हुन नसक्ने ठहर गरेको हो।
विशेषका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप स्थापित हुन नसक्ने ठहर गरेको हो।
सर्लाहीका परदेशीमाथि २० साउन २०७९ मा गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीसहित पत्नी मञ्जु देवी, छोरी इला, ज्वाइँ रामबाबु प्रसादका नाममा मुद्दा चलाएको थियो।
परदेशीमाथि सर्लाहीमा मात्रै करिब ३ सय परिवारलाई ऋण दिएर फर्जी कागजात बनाई ठगी गरेको आरोप थियो। उनीमाथि एक करोड ५३ लाख रुपैयाँ विगो माग दाबी थियो।


