काठमाडौँ- वित्तीय क्षेत्रमा काम गर्ने विभिन्न संघसंगठनले बैंकिङ क्षेत्रमा भएको धरपकडले आतंकित बनाएको बताएका छन्। नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोशिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले विज्ञप्ति जारी गर्दै बैंकिङ्ग क्षेत्रमा भएको धरपकड निन्दनीय भएको बताएका हुन्।
प्रभु बैंकका डेपुटी सिईओ मानोज न्यौपानेसहित ११ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले पक्राउ गरेको विषयलाई लिएर वित्तीय क्षेत्रमा काम गर्ने संघसंस्थाको यस्तो प्रतिक्रिया आएको हो।
‘पारदर्शी रुपमा नियामक निकायबाट निर्देशित सिद्धान्तलाई अक्षरस पालना गर्दै अगाडि बढिरहेको संवेदनशील वित्तीय क्षेत्रमा कार्यरत कर्मचारी भय रहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताको प्रत्याभूति गराउन सम्बन्धित निकायसँग हामी माग गर्दछौँ’, विज्ञप्तीमा भनिएको छ, ‘अतः बैंकिङ्ग क्षेत्र जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको धरपकड एवं पक्राउ बारे समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको, यसबाट यस क्षेत्रका कर्मचारीहरुको मनोवल समेत खस्कन गएका हुँदा राज्यका सम्बन्धित निकाय यस बिषयमा गम्भीर भइदिन हामी आग्रह गर्दछौँ।’
बैंकिङ्ग कसूरसँग सम्बन्धित अनुसन्धान प्रक्रिया ‘पहिला सुन अनि थुन’ हुनु पर्नेमा ‘पहिले थुन अनि सुनको’ प्रक्रियाले बढावा पाएको संघसंगठनको बुझाइ छ।




