काठमाडौँ- राजस्व संकलन गर्न जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गरेका छन्। बिहीबार आन्तरिक राजश्व विभागका प्रमुखको समीक्षा बैठकमा मन्त्री महतले यस्तो आग्रह गरेका छन्।
पछिल्लो समय ठूला व्यवसायिक घराना खास प्रभावित नभएको उनको दाबी छ। साना व्यवसायी प्रभावित हुँदा ठूला करदाता बढी रहेको काठमाडौं उपत्यकाभित्र राजस्व असुली कम हुनुको कारण अर्थमन्त्रीले कर्मचारीसँग माग गरेका छन्।
अर्थमन्त्री महतले कर्मकाण्डी तरिकाले समीक्षा नगर्न भन्दै कर्मचारीको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। ‘यदि हामीले विश्लेषणपछि नयाँ कार्यदिशा तय गर्न सकेनौं भने कर्मकाण्डी समीक्षा मात्र हुन्छ, नयाँ काम गर्न सक्दैनौँ। आन्तरिक राजस्व कार्यालयहरुमा कुनैको राजस्व संकलनमा प्रगति भएको छैन भने कुनैमा सामान्य प्रगति भएको छ। यी कार्यालयका प्रमुखहरुले किन यस्तो भयो भन्ने कारण खोज्नुपर्छ। बदमासी भएको छ, दुरुपयोग भएको छ भने कारबाहीको सिफारिस गर्नुपर्छ। गरे पनि त्यस्तै, नगर्दा पनि त्यस्तै भयो भने त के अर्थ भयो,’ महतले भने।
समीक्षा प्रतिवेदनले एउटा राजश्व कार्यालयबाट बढी र अर्कोमा थोरै राजस्व संकलन अनुपात भएको, एक अर्कोमा धेरै फरक अनुपातमा संकलन देखिनुको कारण, संकलन दर सबैतिर सामान्यतया एकै प्रकार नहुने र राजस्वको अन्तर अस्वाभाविक हुनुको कारण खोजी गर्न महतले निर्देशन दिए।
‘झन्डै ४४ प्रतिशत राजस्व ठूला करदाताबाट राजस्व आउँछ। गत वर्षको तुलनामा अहिले ठूला करदाताबाट पनि राजस्व कम संकलन भएको छ। यहाँ पनि समस्या देखियो। यसमा कहाँ त्रुटी भयो, त्यसको समीक्षा हुन जरुरी छ। तथ्यांकलाई तुलना गरेर व्याख्यात्मक विश्लेषण हुन जरुरी छ,’ उनले भने, ‘समस्या पहिचान हुनुपर्यो, समस्या आउने कारण यी हुन् भनेर विश्लेषणपछि आउने कार्यदिशा तय गर्न जरुरी छ।’
भ्याटमा नक्कली बिलको समस्या आइरहेको भन्दै उनले यसलाई अपराध नै मान्नुपर्ने बताएका थिए।


