काठमाडौँ- प्रदेश मुख्यमन्त्रीका लागि आफूले गरेको दाबी सदरको माग गर्दै नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशका सांसद लक्ष्मण किशोर चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।
उनले आफ्नो पार्टीका ७ जना, नेपाली कांग्रेसका १८ जना र नेकपा एसका ४ जनाको समर्थनमा प्रदेश प्रमुखको लागि दाबी पेस गरेको निवेदनमा उल्लेख गरेका छन्।
५२ जना सांसद रहेको प्रदेश सभामा सरकार गठन गर्नका लागि चाहिने बहुमत सङ्ख्या हुँदा हुँदै प्रदेश प्रमुखले मुख्यमन्त्री पदमा जानबाट वञ्चित गरेको चौधरीले रिटमा उल्लेख गरेका छन्।
प्रदेश प्रमुखले संवैधानिक सीमाको अतिक्रमण गरेको बताउँदै उनले मुख्यमन्त्री पदमा नियुक्ति हुन पाउ भनी परेको दाबीलाई रद्द, खारेजी इत्यादि केही नगरी नयाँ आह्वान प्रकाशित गरेको र बिना आधार अरूलाई नियुक्त गरेको कार्य बदरको भागी रहेको जिकिर गरेका छन्।
प्रदेश प्रमुखले मुख्यमन्त्री पदमा नियुक्ति गर्न गरेको निर्णय काम कारबाही तत्काल कार्यान्वयन नगर्नु÷नगराउन पूर्वावस्था कायम गरी आफूलाई नियुक्त गर्न अन्तरिम आदेश जारी गर्न नेता चौधरीले माग गरेका छन्।
एउटै पार्टीबाट दुई जनाको मुख्यमन्त्रीका लागि दाबी परेपछि सुदूरपश्चिम प्रदेशका प्रमुख नाजिर मियाले २ दिनको समय माग गरेका थिए। २ दिन पछि नेकपा एसका दीर्घ सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ समर्थक कैलाश चौधरी सरकारमा सहभागी छन्।
उनले मुख्यमन्त्री सोडारीले शपथ गरेकै दिन भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सहित शपथ गरिसकेका छन्। तर, सर्वोच्चमा रिट दायर गर्ने लक्षमण चाैधरी भने रेशमलाल चौधरी समर्थक मानिन्छन्।


