काठमाडौँ- पोखराका नगरबसले अत्यधिक कालो धुवाँ फालेर नगर प्रदूषित बनाएको भन्दै कास्की ट्राफिक कारबाही गर्न थालेको छ।
अत्याधिक कालो धुवाँ निकालेर सडक ढाक्ने सवारीलाई कारबाही गर्न नागरिकहरूले प्रहरीलाई आग्रह गरेपछि ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो।
वायुप्रदूषण गराउने पोखरा नगरक्षेत्र भित्र सञ्चालित ग १ ख ८१२४ नम्बरको नगरबसलाई पोखरा-४ बीपीचोकबाट नियन्त्रणमा लिइएको छ। बसलाई कारबाहीको लागि नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कास्कीका सूचना अधिकारी वरिष्ठ सई मीनबहादुर खड्काले जानकारी दिए।
यातायात व्यवस्था कार्यालयका प्राविधिकले यसअघि मिलेमतो गरी सवारीलाई कारबाही गर्न अटेर गर्दै आएका थिए।
प्रदूषण जाँच गर्ने प्रविधि र मेसिन भएपनि प्राविधिक र सवारीधनीको मिलेमतोमा परीक्षण गर्ने नगरिएको हो।
यातायात व्यवस्था कार्यालय सवारी कास्कीकी प्राविधिक इन्जिनियर समिना पुनमगरका अनुसार प्रदूषण जाँच गर्ने मेसिन भएपनि कोभिडपछि प्रयोगमा ल्याइएको छैन। सवारी पार्किङस्थल अभावको कारण जाँच हुन नसकेको उनको जिकिर छ।
राज्यको उदासिनताको कारण पोखरेलीले कालो मुस्लो खाएर बाँच्नु परेको भन्दै नागरिकहरूले बारम्बार त्यस्ता सवारीलाई कारबाही गर्न ध्यानाकर्षण गराउँदै आएका थिए।
पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले मिसावट तेल, डुप्लिकेट मोटरपार्ट्स र दक्ष प्राविधिकको अभावका कारण सवारी साधनले कालो धुवाँको मुस्लो निकाल्ने गरेको बताए।
समयमा इन्जिन परीक्षण गर्नु व्यवसायी र चालकको कर्तव्य भएपनि सबैले कर्तव्य पालना नगरेको उनको भनाइ छ।


