काठमाडौँ- जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी छिन्। जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री याको कामीकावाको भ्रमण घोषणा गरेको हो।
‘परराष्ट्रमन्त्री कामिकावाले यही वैशाख १४ देखि २४ गतेसम्म मदगास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलङ्का र नेपालको भ्रमण गर्नेहुनेछ’, परराष्ट्र मन्त्रालयले घोषणा गरेको छ।
खामिखावाले आगामी मे ५ तारिख नेपाल भ्रमणा गर्ने भएकी हुन्। अप्रिल २६ बाट विदेश भ्रमणामा निस्किएकी परराष्ट्रमन्त्री खामिखावा मे ४ तारिख श्रीलंकाको राजधानी कोलम्बो पुग्ने कार्यतालिका रहेको छ।
श्रीलंकामा एक दिन बिताएपश्चात ५ तारिख नेपालको राजधानी काठमाडौँमा अवतरण गर्ने विदेश मन्त्रालयको सूचनामा उल्लेख छ।
काठमाडौँमा रहँदा परराष्ट्रमन्त्री खामिखावाले नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवर्ता गर्ने कार्यक्रम तय भएको छ।
भेटका क्रममा नेपाल र जापान बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको र नेपालको विकासका विषयमा कुराकानी हुने जनाइएको छ। साथै दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी हुने सूचनामा उल्लेख छ।
परराष्ट्रमन्त्रीसँगको भेटवार्तालगत्तै परराष्ट्रमन्त्री खामिखावा सोही दिन नेपालको राजधानी काठमाडौँबाट टोकियो फर्कने विदेश मन्त्रालयले जनाएको छ।
नेपालमा सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरीको भ्रमण भएको थियो। यो नै हालसम्मको उच्चस्तरीय भ्रमण हो।
यसपछि सन् २०१९ मा जापानका तत्कालीन परराष्ट्रमन्त्री कोउनो तारोउको मन्त्रीस्तरीय भ्रमण भएको थियो।
छ राष्ट्रको भ्रमणमा निस्कुनअघि परराष्ट्रमन्त्री कामिकावाले एक पत्रकार सम्मेलनमा ‘ग्लोबल साउथ’ र सात राष्ट्रहरूको समूहलगायत समान विचारधारा भएका देशहरूबीच सम्बन्ध विस्तारमा सेतुको रूपमा काम गर्ने बताएकी थिइन्।


