काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि मधेस प्रदेशका मुख्यमन्त्री तथा जसपा संसदीय दलका नेता सरोजकुमार यादवले आकस्मिक प्रदेश संसदीय दलको बैठक बोलाएका छन्।
केन्द्रको विभाजनले मधेस प्रदेश सरकारमा पनि तरंग सिर्जना भएपछि यादवले प्रदेश संसदीय दलको बैठक बोलाएका छन्।
‘हामी बैठकको लागि भेला हुँदैछौँ,’ जनकपुरधामस्थित जसपा संसदीय दलको कार्यालयमा रहेका नेता मनिस मुमनले भने, ‘साथीहरु आउने क्रम जारी छ। केही बेरपछि बैठक सुरु हुन्छ।’
उनले बैठकमा केन्द्रमा विकसित राजनीतिक घटना क्रमको विषयमा छलफल हुने जानकारी दिए।
केन्द्रमा जसपा विभाजन भए पनि मधेसमा त्यसको असर नपर्ने दावीसमेत उनले गरे। ‘मधेसमा पार्टी एकढिक्का छ। यहाँ विभाजनको कुनै गुन्जायस छैन,’ उनले भने, ‘तीन साताअघि मात्रै मुख्यमन्त्रीज्यूले विश्वासको मत लिनु भएको छ। मधेसमा यही सरकार निरन्तर रहन्छ।’
जसपा नेता यादव एमाले, माओवादी केन्द्रसहितका दलको समर्थनमा मधेस सरकारमा मुख्यमन्त्रीमा कायम छन्। २७ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त उनले यही वैशाख ४ गते प्रदेशसभाबाट चौथोपटक विश्वासको मत लिएका थिए।
१०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतको लागि ५४ जना प्रदेससभा सदस्यको समर्थन आवश्यक पर्छ। हाल कांग्रेस, जनमत पार्टी र लोसपा यादवको विपक्षमा छन्।
मधेस प्रदेशसभामा एमालेका २४, कांग्रेसका २२, जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९ र एकीकृत समाजवादीका ७ जना सांसद छन्। त्यसैगरी नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकरएक प्रदेश सांसद छन्।


