विराटनगर- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले बिहीबारै पद तथा गोपनीयताको शपथ लिँदैछन्। प्रदेश प्रमुख कार्यालयले कार्कीलाई बिहीबारै शपथ दिलाउने तयारी गरेको हो।
कार्कीको शपथलगत्तै कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने भएका छन्।
जसअनुसार एमालेबाट रामबहादुर रानामगरलाई मन्त्री बनाउने तयारी भएको छ।
माओवादी केन्द्रबाट दुर्गा चापागाईँलाई मन्त्री बनाउने तयारी गरिएको छ। चापागाईंले आर्थिक मामिला मन्त्रालयमा दाबी गरिरहेका छन्। यद्यपि माओवादीकै गणेश उप्रेतीले पनि दाबी गरिरहेका छन्।
एमालेका रानामगरलाई भौतिक पूर्वाधार मन्त्रालयमा लैजाने विषयमा छलफल भइरहेको छ।
बाँकी मन्त्रालयमा भने गठबन्धनमा छलफल गरेर टुंगो लाग्नेछ।
एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
मुख्यमन्त्रीमा कार्कीलाई समर्थन गर्ने ५२ जना सांसदको हस्ताक्षर सनाखत गराएर खापुङलाई नियुक्त गरेका हुन्।
यसअघिका मुख्यमन्त्री केदार कार्कीले निर्धारित समय (वेशाख २५) भित्र विश्वासको मत लिने प्रक्रिया पनि अघि नबढाएको र राजीनामा पनि नदिएको भन्दै एमाले र माओवादीले उनलाई हटाएर आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै आएका थिए।
सरकार गठनको आह्वानविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की भने सर्वोच्च अदालत पुगेका छन्। उनले दायर गरेको रिट दर्ता भएको छ।
कार्कीले प्रदेश प्रमुखको आह्वानलाई बदर गरी आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन्।
एमालेका कार्की बने मुख्यमन्त्री, कांग्रेसका कार्की सर्वोच्चमा


