काठमाडौँ- बिहीबार संसदमा धकेलाधकेलको अवस्था सिर्जना भयो। नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरुले एकले अर्कालाई धकेलेको दृष्य देख्न सकिन्छ।
सभामुखले गृहमन्त्री रविलामिछानेलाई बोल्न बलजफ्ती समय दिएपछि संसदको अवस्था मुडभेटतर्फ गएको हो। नेपाली कांग्रेसले बेल घेराउ गरेकै अवस्थामा सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिएका थिए।
संसद सकिएपछि रास्वपाका सांसद मनिष झाले कांग्रेसका नेता तथा कार्यकर्ताको फाइल खोल्ने चेतावनी दिएका छन् भने कांग्रेस महामन्त्री गगन कुमार थापाले फाइल खोल्न चुनौति दिएका छन्।
के भएको थियो संसद्मा ?
कार्यव्यवस्थाको बैठकमा सहमति नजुटेपनि संसद सुरु भयो। सधैँ झै नेपाली कांग्रेसले बेल घेराउ ग¥यो। नाराबाजीकै बीचमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए। नाराबाजीकै बिचमा जबरजस्ति अगाडि बढेको देखेर प्रतिपक्षमा रहेका सबै सांसद उठेर विरोध जनाए। सभामुख तेतिमा पनि रोकिएनन्। उनले सरकार विस्तारको पत्र पनि पढेर सुनाए। कांग्रेस अझै आक्रामक भएर चर्को स्वरमा नाराबाजी गरिरहेको थियो।
सभामुख रोकिएनन्। उनले गृहमन्त्रीलाई बोल्न समय दिए। गृहमन्त्री उठेर बोल्न जान लागेपछि कांग्रेसका संसद रोक्न तर्फ लागे। पूर्व उपप्रधानमन्त्री धनराज गुरुङले लामिछानेलाई रोकेपछि सत्तापक्षको रोबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उठेर गुरुङलाई आदेश दिए। उनले गृहमन्त्रीले बोल्न पाउनुपर्छ जानदिनुस् भनेपछि गुरुङले चर्को नाराबाजी गरे।
त्यसपछि एमाले सांसदहरुले ओलीलाई डिफेन्स गरेर गृहमन्त्रीलाई जान दिन कांग्रेस सांसदलाई बाटोबाट हटाउन कोषिस गरे। कांग्रेस सांसदले पनि गृहमन्त्रीलाई रोक्न एमाले सांसदहरुलाई धकेलेका थिए।
केही एमाले सांसदले आफ्ना संसदीय दलका नेतामाथि अभद्र व्यवहार भएको आरोप लगाएका छन्। नेपाली कांग्रेसका सांसद धनराज गुरुङले ओलीलाई नजिकै गएर औँला उठाउँदै अभद्र व्यवहार गरेको उनीहरुको आरोप छ। तर, गुरुङ भने चर्को स्वरमा नाराबाजी मात्र गरेको बताउँछन्।
कांग्रेस नेताका फाइल खोल्ने रास्वपाको चेतावनी
गृहमन्त्री रवि लामिछानेले संसदमा उठेका प्रश्नको जवाफ दिन नपाएपछि कांग्रेसका नेताहरुको फाइल खोल्ने रास्वपाले चेतावनी दिएको छ।
रास्वपाका सांसद मनिष झाले भने, ‘हामीले सहमतिको लागि धेरै प्रयास गर्यौं तर, अब समिति बन्दैन। त्यो शर्तमा बन्छ हामी २३ महिना मात्रै भयो राजनीतिमा आएको, अहिलेसम्म सरकारमा सहभागी भएको सय दिन पनि कटेको छैन। ३४ वर्षसम्म राजनीति गरेको, छातीमा हात राखेर हामी सबै सांसदहरु भन्न सक्छौं मेरो सभापतिको सबै छानबिन गरोस्, म तयार छौं, उहाँको केही खोट निस्कियो भने हामी राजनीति छाड्न तयार छौं कांग्रेसले त्यो हिम्मत राख्न सक्छ ? मेरो सभापति, सभापतिका श्रीमती र छोराको पनि छानबिन गर भन्न सक्छ ? मेरो चुनौती भयो।’
रास्वपाले कांग्रेसका फाइल खोलिने सत्रमा मात्र संसदीय समिति बन्ने अडान लिएको झाले बताए।
फाइल खोल्न कांग्रेस महामन्त्री थापाको चुनौति
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीका नेताका फाइल खोल्न चुनौति दिएका छन्। पत्रकारसँगको कुराकानीमा उनले सहमतिका लागि भएका प्रयास असफल हुन एमाले र सभामुखको भूमिकाले संसदको गतिरोध लम्बिने देखिएको बताए।
उनले संसदीय छानबिन समिति गठन नभएसम्म छलफलमा समेत नबस्ने बताएका छन्। थापाले भने, ‘अब छलफलमा बस्न हामीलाई मन छैन। भोलि ११ बजेसम्म संसदीय छानबिन समिति गठन होस्। हामी अब छलफल गरेर बस्दैनौंं।’
उनले भने, ‘हामी सरकारमा छौं भनेर बिर्सिनुभएको हो कि जस्तो लाग्छ। कुन कुन फाइल खोज्नुपर्ने हो खोल्दा हुन्छ। धमाधम खोले हुन्छ। सबै फाइल खोल्नुस्। यो फाइल खोल्छौं, त्यो फाइल खोल्छौं भन्ने सुनिरहेका छौं। सरकारमा बस्नेले यो खोल्छौं र त्यो खोल्छौं भन्ने नै होइन। गर्ने हो। हामी तयार छौं।’


