काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक दल फुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि साथ दिएको आरोप लगाएका छन्।शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो आरोप लगाएका हुन्।
प्रतिनिधि सभामा दर्ता भएको राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिन सरकारले प्रतिनिधि सभालाई पत्र पठाएको सार्वजनिक भएसँगै अध्यादेश ल्याएर जसपाको फुटलाई वैधानिकता दिने र अरु पनि दल विभाजन गरिदिने विषयमा सार्वजनिक बहस भइरहेका बेला थापाले यस्तो आरोप लगाएका हुन्।
‘संसद बन्द गरेर अध्यादेश ल्याउने र दलहरू फुटाउने कुरामा एमाले अध्यक्ष ओलीले हुनुहुन्छ नै। यसमा प्रधानमन्त्री पनि संलग्न भएको देखिन्छ,’ थापाले भने। सरकारले संसदको अधिवेशन अन्त्य गर्न सक्ने आशंका बढेको पनि बताए।
प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते विश्वासको मत लिने प्रक्रिया अघि बढाएको विषयमा पनि थापाले शंका गर्ने ठाउँ रहेको बताए। पर्याप्त समय हुँदाहुँदै साेमबार नै विश्वासकाे मत लिन प्रमले हतार गरेकाले शंका गर्ने ठाउँ रहेकाे बताए ।
‘साेमबार प्रधानमन्त्रीले विश्वासकाे मत लिने कुरा छ। यसमा पनि सफा नियत देखिएन। उहाँले अहिलेकाे विवाद मिलाउन खोजिरहेको छु भनिरहनुभएकाे छ। हामी पनि पत्याइरहेका छाैँ। तर अब शंका गर्ने ठाउँ देखियाे,’ थापाले भने, ‘हामीलाई फलानालाई बाेल्न दिइएन भनेर त आलाेचित गरिँदै छ भने विश्वासकाे मत लिन दिएन भनेर आलाेचना गर्दा फरक पर्नेवाला छैन।’
एमाले अध्यक्ष केपी शर्मा ओली दल फुटाउने षड्यन्त्रमा लागेकाे सबैलाई थाहा भए पनि पछिल्ला गतिविधिले प्रधानमन्त्री प्रचण्ड पनि यसमा संलग्न रहेकाे देखिएकाे बताए।


