काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले मानेपनि अथवा नमानेपनि संसद चलाउने बताएका छन्।
एमाले पर्साको नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। जेठ १५ गतेभित्र बजेट ल्याएरै छोड्ने बताएका उनले कांग्रेसले नमानेपनि संसद चलाउनैपर्ने पक्षमा आफूहरू रहेको बताए।
‘कांग्रेसले सरकारबाट बाहिरिनुपर्दाको पीडा पोखेर कराइरहेको छ। १५ गतेभित्र नीति तथा कार्यक्रम पास गरेर बजेट पेस गर्नुछ। त्यसकारण कांग्रेस मान्छ भने मान्छ, मान्दैन भने हामी संसद त चलाउँछौं,’ उनले भने, ‘नीति तथा कार्यक्रम पास गर्नैपर्छ, देशलाई बजेट दिनै पर्छ। देशलाई नै ठप्प पार्ने अनि कांग्रेसले यसलाई बोल्न दिन्छु भन्दा दिने दिन्न भन्दा नदिने हुन्छ ? कांग्रेसले जेजे भन्यो त्यही मान्दिनुपर्ने?’
उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आरोप लगाएर बोल्न नदिएकोप्रति पनि कांग्रेसमाथि आक्रोश पोखे।


