काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएको भन्ने कुरा गलत भएको दाबी गरेका छन्।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो जिकिर गरेका हुन्।
सत्तारुढ दलहरूले भने कांग्रेसले लामिछानेलाई संसदमा बोल्न नदिएको आरोप लगाइरहेका छन्। तर लामिछाने बोलेपछि कांग्रेसले पनि आफ्ना धारणा राख्ने बताएपछि रवि आफैँले बोल्न नचाहेको कोइरालाको भनाइ छ। आफू बोलेपछि कांग्रेसलाई बोल्न नदिने पक्षमा रवि रहेको कोइरालाले बताए।
‘उपप्रधानमन्त्री लामिछानेले बोल्ने कुरामा कांग्रेस सहमत भइसकेको छ,’ उनले भने, ‘तर उहाँले बोलेपछि चित्त नबुझेको कुरामा कांग्रेसले पुनः धारणा राख्ने बताएपछि उहाँ आफैँ बोल्न नचाहनु भएको हो।’
सहकारी ठगीमा मुछिएपछि लामिछानेले गृहमन्त्री भएर बस्न नमिल्ने कोइरालाको तर्क छ। लामिछाने आफैले आफूमाथि लागेको सहकारी ठगीको छानबिनका लागि संसदीय समिति बनाउन अग्रसर हुनुपर्ने कोइरालाको धारणा छ।
नेता कोइरालाले कांग्रेसले उपप्रधानमन्त्री लामिछानेको राजीनामा नमागेको पनि बताए।


