काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापामाथि कैयौँ आरोप लगाएका छन्। गगनको नाम नलिइकन उनले संवेदनशील आरोपहरू लगाएका हुन्। उनले कांग्रेस नेता रामहरि खतिवडालगायतका कांग्रेसका नेताहरूलाई पनि विभिन्न आरोप लगाएका हुन्।
कृषि अनुदानको रकम हिनामिना गरेको र गोप्य सूचना विदेशी एजेन्टलाई दिएकोलगायतका आरोप रविले गगनमाथि लगाएका छन्। त्रिचन्द्र क्याम्पसको स्ववियुमा हुँदा भ्रष्टाचार गरेकोसमेत उनको आरोप छ।
‘सहकारी ठगी गर्नेलाई मात्र होइन, कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसीबोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔं। दुईतीन वटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाऔं, संसदबाट हटाऔं । जतिसुकै शक्तिशाली होस्, देशको मन्त्री होस् वा पार्टीको महामन्त्री किन नहोस्।’


