मण्डी (भारत)- हिमाचल प्रदेशको मण्डी निर्वाचन क्षेत्रबाट लोकसभा सदस्यमा निर्वाचित अभिनेत्री कंगना रनावतले आफूमाथि महिला प्रहरीले थप्पड मारेको आरोप लगाएकी छन्।
चण्डीगढ विमानस्थलमा बिहीबार आफूमाथि थप्पड मारिएको आरोप अभिनेत्री कंगनाले लगाएकी हुन्
विमानस्थलमा खटिएकी महिला प्रहरी जवान कुलविन्दर कौरले आफूमाथि थप्पड मारेको कंगनाको भनाइ छ।

कंगना र कुलविन्दरको नोकझोकको समय।
चुनाव जितेपछि भाजपा बैठकमा सहभागी हुन कंगना विस्तारा एयरलाइन्सबाट दिल्ली जान लागेकी थिइन्। विमानस्थमा सक्युरिटी चेक गरिरहेको समयमा महिला प्रहरीले थप्पड मारेको कंगनाको भनाइ छ।
कंगनाले आफूमाथि थप्पड मारिएको भन्दै उजुरी गरेकी छन्। आफूलाई थप्पड हान्ने महिला प्रहरीलाई सेवाबाट हटाउन र उनीमाथि कारबाही गर्नुपर्ने कंगनाको माग छ।
किसान आन्दोलनका बेला कंगनाले दिएको अभिव्यक्तिप्रति ती महिला प्रहरीको असहमति थियो।
दिउँसो साढ़े ३ बजेतिर कंगनाले सिक्युरिटी चेक सकेर बाहिर निस्कने क्रममा थिइन्। त्यही बेला महिला जवानसँग कंगनाको चर्काचर्की परेको थियो। उजुरी गरेपछि कंगना दिल्लीका लागि उडिसकेकी छन्।

कुलविन्दर कौर। महिला प्रहरी जवान।
किसान आन्दोलनका बेला कंगनाले आन्दोलनकारीलाई खालिस्तानी आतंककारीसँग तुलना गरेकी थिइन्। पञ्जाबसहित देशका शिख समुदायले उक्त अभिव्यक्तिमाथि आपत्ति जनाएका थिए।
विमानस्थलका सुरक्षा अधिकारी डीएसपी कुलजिन्दर सिंहले भने कंगनाले आफूमाथि थप्पड मारेको भन्ने उजुरी नदिएको दाबी गरेका छन्। तर एक महिला जवानले कंगना रनावतसँग गलत व्यवहार गरेको भने उजुरी आएको बताए। घटनाका सम्बन्धनमा अनुसन्धान भइरहेको उनले बताए। यो विषयमा खोजी गर्दा ती महिला प्रहरीले किसान आन्दोलनसँग सम्बन्धित कंगनाको टिप्पणीले आफूहरूको समुदायमाथि आघात पुगेको उल्लेख गरेकी छन्।
कंगना बिहीवार बिहान आमासँग अंकमाल गरेर छुट्टिएकी थिइन्। घरबाट निस्कनुअघि उनले तीन फोटो सामाजिक सञ्जालमा राखेकी थिइन्।

मण्डी निर्वाचन क्षेत्रमा कंगनाले कांग्रेसका नेता विक्रमादित्य सिंहलाई ७४ हजार ७५५ मतान्तरले पराजित गरेकी हुन्।


