काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका दुई जना सञ्चालक बर्खास्त भएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले साउन १८ गते पठाएर दुवै जनालाई पदमुक्त गरेको हो।
बर्खास्तीमा पर्नेमा कपिल आचार्य र भक्तबहादुर पुन छन्।
डेडिकेटेड र ट्रंकलाइन विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीको मौखिक तथा विद्युत् नियमन आयोगले दिएको लिखित निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै दुवै जनालाई पदमुक्त गरिएको हो।
यसअघि दुवै जनालाई ऊर्जा मन्त्रालयले स्पष्टीकरण सोधेको थियो।
नेपाल विद्युत् प्राधिकरण ऐनको दफा ९ मा नेपाल सरकारले विद्युत् प्राधिकरणमा सञ्चालक मनोनयन गर्न र हटाउन सक्ने व्यवस्था गरेको छ।
डेडिकेटेड र ट्रंकलाइन विवादमा विद्युत् काट्नु कानुन विपरीत हुने भएकाले लाइन जोड्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए।
ओलीको निर्देशन कार्यान्वयनका लागि प्राधिकरणले बोलाएको बैठका ‘नोट अफ डिसेन्ट’ उनीहरूले लेखेका थिए।
उनीहरूको उक्त कामप्रति रुष्ट बनेको मन्त्रालयले दुवै जनालाई हटाइदिएको हो।
पुन माओवादी केन्द्र र आचार्य नेकपा एकीकृत समाजवादी समर्थक हुन्।
उनीहरु दुवै जनाको कार्यकाल आगामी पुस २ गतेसम्म थियो।
पुन दोस्रो कार्यकालका लागि २०७७ पुस २ गते प्राधिकरणको सञ्चालक नियुक्त भएका थिए।
आचार्यले पनि त्यही दिन नियुक्ति लिएका थिए।
प्रधानमन्त्रीको दोहोरो चरित्र उदांगो पार्दैछ ट्रंकलाइन र डेडिकेटेड विवाद


