काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिपक्षी दलले ध्यानाकर्षणपत्र बुझाएका छन्। ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा विपक्षी दलको ध्यानाकर्षणपत्र बुझेका हुन्।
ओलीले लोकतान्त्रिक प्रणालीमा मागपत्र र सुुझाव प्रस्तुत हुनु संवाद र छलफलको सकारात्मक प्रक्रिया भएकाले विपक्ष दललाई ध्यानाकर्षणपत्रका लागि धन्यवाद दिए।
ओलीले आफूलाई तानाशाह भनेर गालीगलौज गर्ने गरिएको भन्दै असन्तुष्टि पोखेका थिए। थप तिक्तता नहोस् भनेर मात्र आफूले कुनै जवाफ नदिएको भन्दै उनले त्यसलाई सुधार गर्न पनि विपक्षीहरूलाई चेतावनी दिए।
‘अहिले कतिपय ठाउँमा मलाई तानाशाह भनेर अवाञ्छित गालीगलौज गरिएको छ। थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन। मलाई कुनै स्टन्टबाजी गर्नु छैन। साथीहरुले पनि त्यसो गर्नु राम्रो होइन।’
प्रधानमन्त्री ओलीले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारीसम्बन्धी अनियमिताका सम्बन्धमा अनुसन्धान अघि बढेको उल्लेख गर्दै पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई कसैको दबाब वा आग्रहमा नभई अनुसन्धान गर्ने निकायबाट प्रक्रियागत रुपमा पक्राउ गरिएको स्पष्ट गरे।
‘मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन। मेरो कसैसँग दुराभाव छैन। मलाई केही लिनुदिनु छैन। मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ। अरु दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो। समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो,’ प्रधानमन्त्री ओलीले भने, ‘मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ। हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन। लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन।’
यसअघि विपक्षी दलहरूले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए परिणाम राम्रो नहुने भन्दै ओलीलाई चेतावनी दिएका थिए। सरकार टिकाउन दुई दलीय तानाशाही लाद्न र अन्य दलहरूलाई विभाजन गर्ने उद्देश्य राखेर राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरे प्रतिरोध गर्ने उनीहरूको चेतावनी थियो। यद्यपि लिखित मागमा भने चेतावनीको भाषालाई केही नरम गरिएको छ।

यो विषयमा ओलीले प्रष्टीकरण दिए। ‘विगतमा नेकपा (एमाले)लाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरुलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुन सक्छ,’ राजनीति दलसम्बन्धी अध्यादेशका सम्बन्धमा विपक्षी दलहरुले उठाएको प्रश्नबारे प्रधानमन्त्री ओलीले भने, ‘तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन।’
बालुवाटारमा विपक्षीसँग आलोपालो चेतावनी शृंखला चलेपछि उनले आफूहरूबीच समान धारणा रहेको भन्दै चेतावनीपछि गर्माएको वातावरणलाई मत्थर गर्ने यत्न पनि गरेका थिए।
बाढीपहिरो र डुबानका घटनापछिको अवस्थामा राहत र उद्धारको काम प्रभावकारी रुपमा गर्ने विषयमा आफूहरू दुवै पक्षको समान मत देखिएको उनको भनाइ थियो।
प्रधानमन्त्री ओलीले मनसुनजन्य विपद्को घटनामा घाइते भएकाहरुको निःशुल्क उपचार भइरहेको, बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको, बेलिब्रिजहरुसमेत मगाएर राजमार्गहरुमा भएको अवरोध खुलाइएको जनाउँदै यस्ता विषयमा कुनै राजनीति नगरी मिलेर जान दलहरुलाई आग्रह गरेका थिए।


