काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदमा प्रतिपक्षी दलका नेताहरूले भेट गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारको एक सय दिनका प्रगति सुनाउने दिनमा नै प्रमुख प्रतिपक्षी दलका नेताले राष्ट्रपतिलाई भेटेर गुनासोहरूका बेलिविस्तार लगाएका हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रतिपक्षमा रहेको दलका नेताहरूले बुधबार शीतलनिवास पुगेर राष्ट्रपतिसँग भेट गरे। भेटमा उनीहरूले सरकारका कमजोरी भन्दै आफूहरूविद्धका कामबारे विस्तार गरेया थिए।
यसअघि नै उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १३ बुँदे ज्ञापनपत्र बुझाएका थिए। रवि लामिछानेलाई प्रहरीले गरेको पक्राउका विषयमा रास्वपाको मुख्य चासो रहेको र माओवादीले भने दलविभाजन सम्बन्धी नयाँ अध्यादेशका विषयमा चासो राखेको छ।
प्रधानमन्त्री ओलीले अध्यादेश जारी गर्न सिफारिस गरिहाले त्यसलाई रोक्न आग्रह गर्दै प्रतिपक्षीले राष्ट्रपतिसँग भेटका लागि पुगेको माओवादीकै एक नेताको भनाइ छ।
यी दुवै विषयमा अघि बढे सरकारको प्रतिवाद गर्ने विपक्षीको भनाइ थियो। तर ओलीले उल्टै आफ्नो विरोध नगर्न चेतावनी दिएपछि प्रचण्ड नेतृत्वको प्रतिपक्षी खेमा शीतलनिवास पुगेको हो।
राष्ट्रपति पौडेलसँग प्रतिपक्ष दलका नेताहरूले वर्तमान परिस्थितिबारे जानकारी दिनका लागि आफूहरू आएको जिकिर गरेका थिए। लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न उनीहरूले राष्ट्रपतिलाई आग्रह गरेको राष्ट्रिपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
उनीहरूले संविधानको मर्म विपरीत र बहुलवादमा आधारित मर्म विपरितका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।
राष्ट्रपति पौडेलले आफू संविधान, राष्ट्र र राष्ट्रिय एकताको प्रर्वद्धनप्रति प्रतिववद्ध रहेको बताउदै संविधानले आफूलाई दिएको कर्तव्य र सिमा अनुसार अगाडि बढ्ने कुरामा विश्वस्त हुन आग्रह गर।
‘संविधान मर्म र लोकतन्त्रको मर्मलाई हेरेर संविधानले निर्धारित राष्ट्रपतिको कर्तव्य र सिमालाई हेरेर मैले काम गर्ने कुरामा तपाईहरूलाई विश्वास दिलाउन चाहन्छु,’ उनले भने।
प्रतिपक्षमा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, र आम जनता पार्टी छन्।
राष्ट्रपति पौडेलसँगको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदद्धय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक सत्तारोहण गरेको आज मात्रै सय दिन पुगेको छ। उक्त अवसरमा उनले सरकार ढल्छ भन्ने सपना नदेख्न प्रतिपक्षीहरूलाई आग्रह गरेका थिए।
रवि पक्राउ परेपछि सत्तापक्ष र प्रतिपक्षबीचको दूरी बढ्दै गएको छ। यही मौकामा प्रतिपक्षीहरूले सरकार ढल्ने कुरा गरेर ओलीलाई कमजोर बनाउन चाहेका छन्। तर कांग्रेस सभापतिको चाहनाविपरीत सरकार ढल्ने सम्भावना छैन। ओली र देउवाले भने बारम्बार भेटेर सम्बन्धमा दरार नआएको सन्देश दिन खोजिरहेका छन्।


