काठमाडौं– अर्थ मन्त्रालयको तथ्यांकअनुसार २०७८ चैतदेखि २०७९ चैतसम्मको अवधिमा मात्रै करिब सात लाख करदाता थपिएका छन्। सबै किसिमको आर्थिक कारोबारका लागि स्थायी लेखा नम्बर (प्यान) र साना व्यवसाय पनि मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुनुपर्ने व्यवस्था कार्यान्वयनमा आएपछि करमा दर्ता हुनेको संख्या बढेको हो।
तथ्यांकअनुसार २०७८ चैतसम्म ४७ लाख र २०७९ चैतसम्म करिब ५४ लाखले पान लिएका छन्। यसमा व्यक्तिगत प्यान नम्बर लिनेको संख्या बढ्दा करमा दर्ता हुनेको संख्यामा उल्लेख्य वृद्धि देखिएको हो। २०७९ चैतसम्म करिब ३५ लाखले व्यक्तिगत प्यान लिएका छन्। यो संख्या २०७८ चैतसम्म २९ लाख २० हजार थियो।
त्यस्तै, समीक्षा अवधिसम्म व्यावसायिक प्यान लिनेको संख्या १८ लाख ६० हजार नाघेको छ, जुन २०७८ चैतसम्म १७ लाख ६७ हजार थियो। करकट्टी गर्ने संस्थाले लिएको प्यान संख्या भने २५ हजार ४८२ पुगेको मन्त्रालयको भनाइ छ।
हालसम्म मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुनेको संख्या ३ लाख ६ हजार रहेको छ। २०७८ चैतमा यो संख्या तीन लाख १६ हजार थियो। भ्याट खारेजीमा परेको अथवा निष्व्रिmय करदाता भ्याटको दायराबाट बाहिरिँदा पनि संख्या घट्छ।
अन्तःशुल्कमा दर्ता हुनेको संख्या १ लाख १८ हजार ९३० पुगेको मन्त्रालयले जनाएको छ। सरकारले आर्थिक वर्ष २०७६/७७ देखि तलबलगायत सम्पूर्ण कारोबारका लागि प्यानमा दर्ता हुनुपर्ने र साना व्यवसाय पनि भ्याटमा दर्ता हुनुपर्ने नियम लागू गरेको थियो।


